चैनपुरमा खानेपानीको हाहाकार

रासस

आइतबार, १६ फागुन २०७७, १२ : १४
चैनपुरमा खानेपानीको हाहाकार

सांकेतिक तस्वीर

बझाङ । सदरमुकाम चैनपुरमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ । खानेपानीको पाइपको उचित व्यवस्थापन हुन नसक्दा समस्या भएको हो । सदरमुकामलाई लक्षित गरेर तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम भइरहेको छ । 

लामो समयदेखि धारामा खानेपानी नआउँदा होटल व्यवसायी बढी मर्कामा परेका छन् । धारामा खानेपानी नआउँदा सदरमुकामवासी बाउली खोला र सेती नदीको फोहर पानी पिउन बाध्य छन् । धारामा पानी नआउँदा सास्ती भएको होटल व्यवसायी हर्क बोहराले बताए । उनका अनुसार होटलमा आएका ग्राहकलाई हातमुख धुन र चर्पीमा प्रयोग गर्नका लागि बिहानै उठेर पानी बोक्नुपर्छ । धारामा पानी नआउँदा होटल व्यवसायी मात्र नभई सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आएका र अध्ययनका लागि आएका विद्यार्थीलाई पनि निकै सास्ती भएको छ । 

सेती नदी र बाहुलीगाढ खोलाको दूषित पानी पिउँदा सदरमुकामवासी बिरामी हुन थालेका छन् । फोहर पानीका कारण जिल्ला अस्पतालमा पानीजन्य सङ्क्रमणका बिरामीको सङ्ख्या बढदै गएको अस्पतालका प्रमुख डा सन्दीप ओखेडाले बताए । उनले सदरमुकाम क्षेत्रका मानिसमा पछिल्लो समय मौसम परिवर्तनसँगै स्वच्छ पानी पिउन नपाउँदा झाडापखाला, आउँ, ज्वरो, रुघाखोकी जस्ता समस्या बढदै गएको बताए । 

चैनपुर कुचा सडक निर्माणका क्रममा खानेपानीको पाइप काटिँदा सदरमुकाममा खानेपानीको समस्या आएको चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए । खानेपानीको पाइप जडान भइरहेकाले अब केही दिनभित्रै समस्या समाधान हुने उनको भनाइ थियो ।