व्यास गुफा र तनहुँसुरलाई जोड्न हाफ म्याराथन हुने

रासस

शुक्रबार, १४ फागुन २०७७, १६ : ०८
व्यास गुफा र तनहुँसुरलाई जोड्न हाफ म्याराथन हुने

 तनहुँ । चार वर्षदेखि अल्ट्रा म्याराथन गर्दै आएको तनहुँको व्यास नगरपालिकाले पहिलोपटक महिला हाफ म्याराथन गर्ने भएको छ । 

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नगरपालिकाले फागुन २४ गते हाफ म्याराथन गर्न लागेको हो । व्यास नगर अल्ट्रा म्याराथनको सफलताका कारण साहसिक पर्यटकीय खेलको रुपमा रहेको दौड प्रतियोगितामा महिला सहभागिताको महत्वलाई महसुस गरी धार्मिक पर्यटकीयस्थल व्यास नगरपालिका–३ व्यास गुफादेखि ऐतिहासिकस्थल व्यास नगरपालिका–११ तनहुँसुरसम्म म्याराथन गर्न लागिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । 

“धार्मिकरुपमा परिचित व्यास गुफा र ऐतिहासिकस्थलको रुपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने उद्देश्यसहित म्याराथन गर्न लागेका हौँ”, उनले भने  । गत वर्ष तय गरिएको महिला म्याराथन कोभिडका कारण स्थगित भएको थियो । खुल्ला हाफ म्याराथनमा प्रथम हुनेलाई रु ४१ हजार ७७,  द्वितीय हुनेलाई रु ३१ हजार ७७, तृतीय हुनेलाई रु २१ हजार ७७ र सान्त्वना हुने पाँच जनालाई रु ११ हजार ७७ प्रदान गरिनेछ । 

हाफ म्याराथन व्यास गुफादेखि सफा सडक हुँदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारथोक, चण्डीथान, गद्दीचौतारा हुँदै व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर टुङ्गिनेछ । उक्त दूरी २१ किमिको रहनेछ । 

म्याराथन रुटमा खेलाडीबाट नियमसम्मत रुपमा दौड सम्पन्न गर्नका लागि विभिन्न पाँच स्थानमा चेकपोइन्टको व्यवस्था गरिएको छ । चेकपोइन्टमा धावकले दौडको नियम पालना गरे नगरेको निरीक्षण गरिनेछ भने धावकका लागि पानी, चकलेट साथसाथै स्वास्थ्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण सामग्री सम्बन्धित वडामा टोल विकास संस्थाको सहभागितामा राखिने छ । नगरउपप्रमुख मीरा जोशीका अनुसार घाँसीकुवा, बेलटारी, अर्चलचौर, धरमपानी र तनहुँसुर दरबारमा चेकपोइन्ट रहनेछ । 

म्याराथनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि नगर प्रमुखको संयोजकत्वमा नगरसभा सदस्य रहने गरी मूल आयोजक समिति गठन गरिएको छ । जसअन्तर्गत विभिन्न नौवटा उपसमिति गठन गरिएको छ । व्यास नगरपालिकाले मानुङकोटदेखि पुलिमराङसम्म ४४ किमी दूरीको अल्ट्रा म्याराथन प्रतियोगिता हरेक वर्ष शहीद दिवसको दिन गर्दै आइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस