स्वास्थ्य मन्त्रालयले खरिद गरेको स्वास्थ्य सामग्रीमा चरम भ्रष्टाचार, ९०० पर्ने सेनिटाइजर ३५०० मा खरिद

सफल खबर संवाददाता

शुक्रबार, १४ फागुन २०७७, ०७ : ४१
स्वास्थ्य मन्त्रालयले खरिद गरेको स्वास्थ्य सामग्रीमा चरम भ्रष्टाचार, ९०० पर्ने सेनिटाइजर ३५०० मा खरिद

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले मास्क, सेनिटाइजर, क्लोरिनलगायतका स्वास्थ्य सामग्री बजार मूल्यभन्दा झन्डै चार गुना महँगोमा खरिद गरेको पाइएको छ । बजारमा प्रतिथान चार रुपैयाँमा पाइने मास्क सात रुपैयाँ, ५ लिटरलाई ८ सय ५० देखि ९ सय रुपैयाँ पर्ने फ्लोरोना सेनिटाइजर ३ हजार ५ सय, ५ सय देखि ७ सय रुपैयाँ पर्ने क्लोरिन २ हजार ५ सय रुपैयाँमा मन्त्रालयले खरिद गरेको हो । 

बजारमा सस्तोमा सहजै पाइने बेला गत माघ २२ मा स्वास्थ्य सामग्री मन्त्रालयले किनेको हो । मन्त्रालयले माघ २२ मा मुक्तिनाथ मेडिको फर्मासँग ३० हजार थान मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५ लिटरको ३५ जार सेनिटाइजर र ५ लिटरकै ३० जार क्लोरिन खरिद गरेको थियो । ती सामानको बजार मूल्य भने त्यतिबेला र अहिले उस्तै रहेको मेडिकल सप्लायर्सहरू बताउँछन् ।

निश्चित व्यक्तिहरूले कमिसन लिएर बजार मूल्यभन्दा महँगोमा सामग्री खरिद गरेको हुन सक्ने मन्त्रालयका कर्मचारीहरू बताउँछन् । ‘कमिसन नभएको भए बजार मूल्यभन्दा महँगोमा किन खरिद गर्छन् ?’ उच्च तहका एक कर्मचारीले भने, ‘यतिको महँगो त मुलुकमा स्वास्थ्य सामग्री अभाव हुँदा पनि थिएन ।’

मन्त्रालयले खरिद गरेको मूल्यभन्दा पनि सस्तोमा सबैभन्दा राम्रो मानिएको डोचेम कम्पनीकै मास्क बजारमा पाइन्छ । ‘हामीले साढे ६ रुपैयाँमा डोचेम मास्क बिक्री गरिरहेका छौं,’ त्रिपुरेश्वरस्थित एक मेडिकल सप्लायर्सले भने, ‘सात रुपैयाँ पर्ने मास्क कस्तो रहेछ ?’ मेलबन भएको सबैभन्दा सस्तो मास्क २ रुपैयाँमा बजारमा उपलब्ध छ । मन्त्रालयले चिनियाँ कम्पनी होडोको तीन प्लाईको मास्क खरिद गरेको हो ।

ग्राहक बनेर मुक्तिनाथ मेडिको फर्माका सञ्चालक मनोज चौलागाईंलाई मन्त्रालयमा उपलब्ध गराएको मास्क र अन्य सामानको मूल्यबारे जानकारी लिएको थियो । ‘मन्त्रालयमै उपलब्ध गराएको मास्क ४ रुपैयाँ (एक प्याकेटको २ सय) मा दिन सकिन्छ,’ उनले भने । मन्त्रालयलाई उपलब्ध गराएको फ्लोरोना कम्पनीको सेनिटाइजर अहिले नभएकाले आफ्नै उत्पादन धर्मभक्त (५ लिटर) को ८ सय रुपैयाँमा उपलब्ध गराउने उनले बताए ।

शान्तिनगर, कोटेश्वर, लोकन्थलीमा आफ्नो स्टोर रहेको उल्लेख गर्दै उनले पायक पर्ने जुनसुकै ठाउँबाट सामान लिन सकिने बताए । मन्त्रालयलाई बिक्री गरेकै सामान न्यून मूल्यमा उपलब्ध गराउन तयार रहेको उनको भनाइ थियो । ‘मन्त्रालयलाई हामीले जुन सामान दिएका हौं, त्यही दिन्छौं,’ चौलागाईंले भने । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस