काठमाडौँ । स्वास्थ्य मन्त्रालयले मास्क, सेनिटाइजर, क्लोरिनलगायतका स्वास्थ्य सामग्री बजार मूल्यभन्दा झन्डै चार गुना महँगोमा खरिद गरेको पाइएको छ । बजारमा प्रतिथान चार रुपैयाँमा पाइने मास्क सात रुपैयाँ, ५ लिटरलाई ८ सय ५० देखि ९ सय रुपैयाँ पर्ने फ्लोरोना सेनिटाइजर ३ हजार ५ सय, ५ सय देखि ७ सय रुपैयाँ पर्ने क्लोरिन २ हजार ५ सय रुपैयाँमा मन्त्रालयले खरिद गरेको हो ।
बजारमा सस्तोमा सहजै पाइने बेला गत माघ २२ मा स्वास्थ्य सामग्री मन्त्रालयले किनेको हो । मन्त्रालयले माघ २२ मा मुक्तिनाथ मेडिको फर्मासँग ३० हजार थान मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५ लिटरको ३५ जार सेनिटाइजर र ५ लिटरकै ३० जार क्लोरिन खरिद गरेको थियो । ती सामानको बजार मूल्य भने त्यतिबेला र अहिले उस्तै रहेको मेडिकल सप्लायर्सहरू बताउँछन् ।
निश्चित व्यक्तिहरूले कमिसन लिएर बजार मूल्यभन्दा महँगोमा सामग्री खरिद गरेको हुन सक्ने मन्त्रालयका कर्मचारीहरू बताउँछन् । ‘कमिसन नभएको भए बजार मूल्यभन्दा महँगोमा किन खरिद गर्छन् ?’ उच्च तहका एक कर्मचारीले भने, ‘यतिको महँगो त मुलुकमा स्वास्थ्य सामग्री अभाव हुँदा पनि थिएन ।’
मन्त्रालयले खरिद गरेको मूल्यभन्दा पनि सस्तोमा सबैभन्दा राम्रो मानिएको डोचेम कम्पनीकै मास्क बजारमा पाइन्छ । ‘हामीले साढे ६ रुपैयाँमा डोचेम मास्क बिक्री गरिरहेका छौं,’ त्रिपुरेश्वरस्थित एक मेडिकल सप्लायर्सले भने, ‘सात रुपैयाँ पर्ने मास्क कस्तो रहेछ ?’ मेलबन भएको सबैभन्दा सस्तो मास्क २ रुपैयाँमा बजारमा उपलब्ध छ । मन्त्रालयले चिनियाँ कम्पनी होडोको तीन प्लाईको मास्क खरिद गरेको हो ।
ग्राहक बनेर मुक्तिनाथ मेडिको फर्माका सञ्चालक मनोज चौलागाईंलाई मन्त्रालयमा उपलब्ध गराएको मास्क र अन्य सामानको मूल्यबारे जानकारी लिएको थियो । ‘मन्त्रालयमै उपलब्ध गराएको मास्क ४ रुपैयाँ (एक प्याकेटको २ सय) मा दिन सकिन्छ,’ उनले भने । मन्त्रालयलाई उपलब्ध गराएको फ्लोरोना कम्पनीको सेनिटाइजर अहिले नभएकाले आफ्नै उत्पादन धर्मभक्त (५ लिटर) को ८ सय रुपैयाँमा उपलब्ध गराउने उनले बताए ।
शान्तिनगर, कोटेश्वर, लोकन्थलीमा आफ्नो स्टोर रहेको उल्लेख गर्दै उनले पायक पर्ने जुनसुकै ठाउँबाट सामान लिन सकिने बताए । मन्त्रालयलाई बिक्री गरेकै सामान न्यून मूल्यमा उपलब्ध गराउन तयार रहेको उनको भनाइ थियो । ‘मन्त्रालयलाई हामीले जुन सामान दिएका हौं, त्यही दिन्छौं,’ चौलागाईंले भने । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ फागुन २०७७, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर, ४६ करोड बढी बिगो
पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दायर
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा