इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

एजेन्सी

विहीबार, १३ फागुन २०७७, २० : ५३
इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

काठमाडौं । इन्डोनेसियामा पत्रकारहरुका लागि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । राजधानी जाकार्तामा राष्ट्रपति जोको विडोडोको उपस्थितिमा बिहीबार पत्रकारका लागि खोप अभियानको सुरुवात गरिएको हो । 

राष्ट्रपति विडोडोले झण्डै पाँच हजार ५०० पत्रकारहरुले कोरोनाविरुद्धको खोप लगाइसकेको जानकारी दिनुभएको छ ।  इन्डोनेसियामा यही बिहीबारदेखि शनिबारसम्म पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप लगाइदिने व्यवस्था गरिएको छ ।

“समाचार सङ्कलनका लागि विभिन्न ठाउँमा जानु पर्ने र विभिन्न व्यक्तिहरूसँग अन्तरक्रिया र सम्पर्क गर्नु पर्ने पत्रकारहरूलाई खोप उपलब्ध गराउँदा उनीहरूलाई काम गर्न सजिलो हुन्छ भन्ने हामीले पूर्ण विश्वास लिएका छौँ,” राष्ट्रपति विडोडोले नेशनल प्रेस डेलीसँग भन्नुभयो ।

पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था राजधानी जाकार्तामा मात्रै नभई देशभरीका सवै प्रदेशहरुमा पनि गरिएको उहाँले जानकारी दिनुभयो । कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित मुलुक इन्डोनेसियामा कोरोनाभाइरस विरुद्धको खोप लगाउन गत जनवरी १३ देखि सुरु गरिएको हो ।