सत्ता समीकरणको प्रस्ताव राख्दा जसपाले दियो दाहाल र नेपाललाई यस्तो जवाफ

सफल खबर संवाददाता

विहीबार, १३ फागुन २०७७, १४ : २४
सत्ता समीकरणको प्रस्ताव राख्दा जसपाले दियो दाहाल र नेपाललाई यस्तो जवाफ

काठमाडौँ । सत्ता समीकरणको रस्साकस्सी चल्न थालिसकेको छ । नेकपा दाहाल–नेपाल पक्षले सत्ता समीकरणको लागि विभिन्न दलहरुसँग कुराकानी गरिरहेको छ ।

नेकपा दाहाल–नेपाल पक्षले नेपली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्रीको अफर गरिसकेको छ । संयुक्त सरकार गठनको विषयमा जनता समाजवादी पार्टीसँग पनि दाहाल– नेपाल पक्षले छलफल गरेको छ । बिहीबार नेकपाको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले जसपाका नेताहरुसँग छलफल गरेका हुन् ।

छलफलमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ सहभागी थिए । छलफलमा सहभागी नेता श्रेष्ठले दाहाल–नेपालले सरकार गठनमा सहकार्यको प्रस्ताव गरेको बताए । जसपालाई सत्ता समीकरणमा सहकार्यको प्रस्ताव राखेपछि जसपाका नेताहरुले सर्तैसर्त राखेको बुझिएको छ । दाहाल–नेपालले राखेको प्रस्तावमा जसपा नेताहरुले यस्ता सर्त अगाडि सारेका छन् । जसपाले संविधान संशोधनका मुद्दालाई अगाडि सारेको छ । रेशम चौधरीको रिहाइको कुरालाई अगाडि सारेको छ । 

‘सहकार्य गर्ने हो भने एकआपसमा समस्या नआउने गरी सहकार्यका संस्कृतिहरु हुन्छन,’ नेता श्रेष्ठले भने, ‘अर्कोतर्फ नेकपा कानुनी रुपमा विभाजन भएको छैन । यी सबै कुराहरु पहिला क्लियर हुनुपर्छ भन्ने कुरा गर्‍यौं ।’ जसपा नेताहरुको कुरा सुनेपछि अध्यक्ष दाहालले ती विषयमा समीक्षा गर्दै नयाँ ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरु मिलेर जाने वातावरण बनाउन आग्रह गरेका थिए । 

श्रेष्ठले छलफलमा पार्टीका तर्फबाट भएको कुरा उद्धृत गर्दै भने  ‘तपाईंहरुले उठाउनु भएका सबै कुरा ठीक छन् । पहिला ३० दलीय गठबन्धन हुँदा आन्दोलनमा भएका समस्या, संविधान संशोधनका एजेण्डाहरु, पार्टी विभाजनको कुरा, संवैधानिक त्रुटिलाई सच्चाउने, जेलमा रहेका साथीहरुको कुरा यी सबै कुराहरुको समीक्षा गर्दै नयाँ ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरु मिलेर जाने वातावरण बनाउनुस् भन्नु भयो । हामीले केन्द्रीय समिति बैठक बसेर यसबारे फाइनल निर्णय गछौं भन्यौं ।’
 

प्रतिक्रिया दिनुहोस