शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

रासस

विहीबार, १३ फागुन २०७७, ०९ : ५७
शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

लहान । शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याही स्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ । 

विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । निजी स्रोतमा कार्यरत विद्यालयका चार शिक्षकले गत चैत महिनादेखि तलब सुविधा नपाएको भन्दै शिक्षकले पठनपाठन बन्द गरेपछि विद्यार्थीले पनि शिक्षकको समर्थनमा तालाबन्दी गरेको कक्षा १० मा अध्ययनरत अन्सु यादवले बताईन् । 
कोभिड–१९ का कारण गरिएको लकडाउनपछि विद्यालय खुले पनि तलब नपाएको भन्दै शिक्षकले पठनपाठन नगराउँदा आफूहरुको पठनपाठन प्रभावित भएको विद्यार्थीले बताएका छन् । विद्यार्थीले आफ्ना शिक्षकलाई तत्काल तलब उपलब्ध नगराए गाउँपालिका कार्यालयमै तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन् । तालाबन्दीका कारण विगत तीन दिनदेखि विद्यालयको पठनपाठन अवरुद्ध भएको छ ।

विद्यालयले लामो समयसम्म तलब नखुवाउँदा घरखर्चसमेत चलाउनै समस्या भएको विद्यालयमा निजी स्रोतबाट कार्यरत शिक्षक शिवनारायण यादवले बताए । यता विद्यालयका निमित्त प्रधानाध्यापक अरुणकुमार यादवले शिक्षकको तलबका विषयमा गाउँपालिकालाई पटकपटक लिखित अनुरोध गर्दा पनि कुनै सम्बोधन नभएका गुनासो गरे । 
लक्ष्मीपुर पतारी–५ का वडाध्यक्ष महेन्द्र साहले शिक्षकलाई तलब खुवाउने विषयमा गाउँपालिकासँग समन्वय भइरहेको र चाँडै शिक्षकलाई तलब खुवाउने बताए । कक्षा १ देखि १० सम्म पठनपाठन हुने सो विद्यालयमा ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । 

प्रतिक्रिया दिनुहोस