प्रधानमन्त्री ओलीको राजनितिक अवसान शुरु

बुधबार, १२ फागुन २०७७, ०७ : ३४
प्रधानमन्त्री ओलीको राजनितिक अवसान शुरु

काठमाडौँ । सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधिसभा विघटनको निर्णय बदरको फैसला गरिरहँदा प्रधानमन्त्री निवास बालुवाटार गुल्जार थियो । प्रधानमन्त्री केपी शर्मा ओली ७० वर्ष लागेको उपलक्ष्यमा सांगीतिक कार्यक्रमसहित उनका निकटस्थ, केही मन्त्री र परिवारका सदस्यले भव्य समारोह गरिरहेका थिए ।

२०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका ओलीको बालुवाटारभित्र यो चौथो जन्मोत्सव हो, सम्भवतः प्रधानमन्त्रीको यही कार्यकालको अन्तिम पनि । ‘फैसला सुनिसकेपछि पनि उहाँ ९ओली० को भावमा कुनै परिवर्तन आएन,’ एक मन्त्रीले राति ९ बजेतिर कान्तिपुरसँग भने, ‘प्रधानमन्त्रीज्यू हामीसँगै जन्मोत्सव मनाइरहनुभएको छ ।’

सर्वोच्चको फैसलापछि नै ओलीले श्रीमती राधिका शाक्यले लेखेको ‘मेरा अनुभूतिहरू’ किताब पनि विमोचन गरे । उनले मंगलबार दिउँसै नक्सालस्थित बालमन्दिरमा पुगेर जन्मदिन मनाएका थिए । ओली बिहानदेखि नै कार्यक्रमहरूमा व्यस्त रहँदा बालुवाटारमा जन्मोत्सवको तयारी चलिरहेको थियो । राति अबेरसम्म पनि प्रधानमन्त्री निवासमा बलेको रंगीचंगी बत्तीको उज्यालो बाहिरैबाट देखिन्थ्यो । तर ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने यात्रामा ओलीको पाइला लड्खडाएको छ । मध्यावधि चुनावमा गएर एक्लै दुई तिहाइ ल्याउने सपना बोकेका ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि उनको राजनीतिक जीवनको अवसान सुरु भएको छ ।

राजनीतिक जीवन सुरु गरेको करिब चार दशकपछि पार्टीको नेतृत्वमा पुगेका ओलीले पछिल्ला सात वर्षमा जति उचाइ लिए, ओरालो लाग्नेक्रम त्योभन्दा छिटो भयो । त्यसको प्रस्थान बिन्दु गत पुस ५ गते ओलीले हठात् गरेको प्रतिनिधिसभा विघटनसम्बन्धी असंवैधानिक निर्णय नै हो, त्यसको पटाक्षेप मंगलबार भयो । परिणाम उनको विपरीत आयो । यसले हरेक कुराको आकलन गर्ने र परिणाम आएपछि ‘मैले भनेर नै यसो भएको हो’ भन्ने उनको ‘प्रवृत्ति’ को समेत अन्त्य भयो ।

‘मैले चिन्दाखेरि हरेक घटना हुँदा मैले पहिले नै भन्या थिएँ, यो हुँदै थियो भनेर हरेक पपुलर कुरा आफूले उठाएको हो भन्ने प्रवृत्ति अलि अगाडिदेखि नै थियो, उहाँ हरेक विषयलाई आफूमा केन्द्रित गरेर हेर्नुहुन्थ्यो,’ स्थायी कमिटी सदस्य घनश्याम भुसाल सम्झन्छन्, ‘कतिसम्म भने उहाँले जबज (जनताको बहुदलीय जनवाद) को आइडिया मैले नै मदन भण्डारीलाई दिएको हो भनेर मैसँग पनि भन्नुभयो ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस