भारतमा कोभिड–१९ विरुद्धको खोप एक करोड भन्दा बढीले लगाए

एजेन्सी

शुक्रबार, ०७ फागुन २०७७, १६ : १७
भारतमा कोभिड–१९ विरुद्धको खोप एक करोड भन्दा बढीले लगाए

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म एक करोड भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।

 कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या  बिहीबारसम्म एक करोड ९ लाख ६३ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १३ हजार १९३ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९ लाख ६३ हजार ३९४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । 

 भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार १११ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ६ लाख ६७ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ३९ हजार ५४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । 
  

 भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १३० जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ । बिहीबार कोभिड १९ बाट दुई व्यक्तिको मृत्यु भएको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर २० करोड ९४ लाख ४ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ ।[ रासस÷सिन्ह्वा]
 

प्रतिक्रिया दिनुहोस