जङ्गल छेउ टिकाैलीमा डेढ महिनापछि रत्ननगर महोत्सव

सोमबार, ११ मंसिर २०७४, १६ : ०५
जङ्गल छेउ टिकाैलीमा डेढ महिनापछि रत्ननगर महोत्सव

रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस २७ देखि माघ ७ गतेसम्म रत्ननगरस्थित टिकौलीचौरमा नवौँ रत्ननगर महोत्सव आयोजना हुने भएको छ ।
रत्ननगर नगरपालिका संरक्षक रहेको महोत्सवबारे सोमबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्थाले जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष राजाराम रेग्मीले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिइएको बताउनु भयो । 
महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन ४ सय ५० वटा स्टल रहने उहाँले बताउनु भयो । महोत्सव सम्पन्न गर्न मूल समिति, स्टेरिङ कमिटी, सल्लाहकार समिति लगायत विभिन्न कार्यका लागि ३३ वटा कार्यगत समिति गठन गरिएको संघले जनाएको छ ।
जिल्लाको सर्वपक्षीय मौलिक विशेषता झल्काउने विविध लोकसाँस्कृतिक कार्यक्रम, चित्रकला तथा मूर्तिकलाको प्रतियोगितात्मक प्रदर्शनी समावेश गरिनेछ, उहाँले भन्नुभयो, यसपटकको महोत्सवमा पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र ५० करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । 
महोत्सवमा स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको कृषि विकास रणनीति कार्यान्वयनको सहयोग परियोजनाको मूल नारासहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका कृषिका कार्यक्रमलाई प्राथमिकता दिइएको संघले जनाएको छ । 
बृहद व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिंचाई प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, पोल्ट्री, महसँगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएका छौं, संघका अध्यक्ष रेग्मीले भन्नुभयो, स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल, बीउ प्रदर्शनको व्यवस्था गरिनेछ ।
महोत्सवको संरक्षक रत्ननगर नगरपालिका प्रमुख नारायण वनले यो महोत्सव रत्ननगरकै गौरव भएको बताउनु भयो । उहाँले विगतका महोत्सवको मूल्यांकन, उपलब्धिहरुको समीक्षा र प्रभावकारी मापन गर्न आवश्यक रहेको बताउनु भयो । रत्ननगरलाई खुसी शहर बनाउन चाहेको बताउँदै उहाँले रमाइलो डाँडामा गल्फ कोर्स बनाउने विषयमा गृहकार्य भइरहेको जानकारी दिनुभयो ।
रत्ननगर महोत्सवको सहआयोजक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुख्य प्रायोजक अभियान मोटर्स प्रा.लि., प्रायोजक लाली तयारी चाउचाउ र सहप्रायोजक होटल सेभेन स्टार, सौराहा रहेका छन् । महोत्सव अवलोकनको लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । विद्यार्थीलाई प्रवेश शुल्कमा ५० प्रतिशत छुट दिइने आयोजकको भनाइ छ ।
महोत्सव परिसरमा माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर हुनेछन् । माछा, च्याउ र केराको विभिन्न परिकार बनाई महोत्सव परिसरभित्रै विभिन्न परिकार समेटिएको फुड फेस्टीबल हुनेछ । महोत्सवमा यसपटक बंगलादेश, पाकिस्तान, भारतबाट समेत प्रदर्शकको सहभभागिता रहने बताइएको छ । 
व्यावसायिक रुपमा कृषि व्यवसायमा लागेका कृषकका फर्ममै गएर मूल्यांकन गरी प्रतियोगिता संचालन गरिने, स्थलगत कृषि अवलोकन भ्रमणको व्यवस्था, कृषिसंग सम्बन्धित विभिन्न गोष्ठी, अन्तरक्रिया कार्यक्रम, चितवनको आर्थिक विकासका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी संचालन गरिने संघका अध्यक्ष रेग्मीले बताउनु भयो । 
यसपटकको महोत्सवमा आई.टी. तथा इलेक्टा«ेनिक व्यवसायसंग सम्बन्धी छुट्टै सूचना प्रविधि परिसर र अटो व्यवसायसंग सम्बन्धित छुट्टै अटो परिसर रहने, विगतका वर्षमा जस्तै बाल उद्यान परिसरले पनि निरन्तरता पाउने संघले विज्ञप्तिमार्फत जनाएको छ । 
महोत्सवमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुतिसँगै स्थानीय स्तरका उदीयमान प्रतिभाका कला समेटिएको व्यवस्थित सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । विभिन्न आदिवासी जनजातिका भेषभुषा तथा नृत्यसहितको कला संस्कृति प्रदर्शन गरिने बताइएको छ ।
 

प्रतिक्रिया दिनुहोस