भागरथी बलात्कारपछि हत्या प्रकरण

सार्वजनिक पद धारण गरेका एक व्यक्ति पक्राउ, जसको घरनजिक फेला परेको थियो भागरथीले बोक्ने मोबाइलको ब्याट्री

सफल खबर संवाददाता

मंगलबार, ०४ फागुन २०७७, १६ : ०७
सार्वजनिक पद धारण गरेका एक व्यक्ति पक्राउ, जसको घरनजिक फेला परेको थियो भागरथीले बोक्ने  मोबाइलको ब्याट्री

काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । समाचार स्रोतका अनुसार सार्वजनिक पद धारण गरेका ती व्यक्तिको घरनजिक भागरथीले बोक्ने मोबाइलको ब्याट्री फेला परेको थियो ।

भागरथीको हत्या भएको दिन ती व्यक्ति घटनास्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको र भागरथी खोचलेक बजारबाट घरतर्फ लागेलगत्तै उनी पनि त्यहाँबाट निस्किएको पाइएको छ । ‘भागरथी घर जान लागेपछि तत्काल ती व्यक्ति पनि सोही बाटो हुँदै गएको पाइएको छ,’ स्रोतले भन्यो ।

अनुसन्धानको क्रममा घटनाको समयमा उनी घटनास्थल नजिकै पाइएको र घटनामा संलग्न भएको पुुष्टि गर्ने केही आधार पनि भएको स्रोतको भनाइ छ । स्रोत भन्छ, ‘संदिग्धको घर नजिकै भागरथीको मोबाइलको ब्याट्री पनि फेला परेको छ ।’

घटनामा उनको संलग्नतालाई पुुष्टि गर्न भेजाइनल स्वाब र घटनास्थलमा भेटिएको वीर्यको डिएनए टेष्ट गर्नुपर्ने हुन्छ । पक्राउ परेका व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् ।

घटनाको अनुुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतका अनुसार महेन्द्रनगरबाट पक्राउ परेका ती व्यक्ति अहिले पनि प्रहरी नियन्त्रणमै छन् । भारत भाग्न लागेको आशंकामा उनलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस