भागरथी हत्या भएको १२ दिन बित्दा पनि अन्योलमै प्रहरी

सोमबार, ०३ फागुन २०७७, ०७ : ४९
भागरथी हत्या भएको १२ दिन बित्दा पनि अन्योलमै प्रहरी

काठमाडौं । दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि दोषी पत्ता लाग्न सकेको छैन। प्रहरीले अनुसन्धान साँघुरिँदै गएको दाबी गरे पनि हत्याराका बारेमा ठोस प्रमाण फेला पार्न सकेको छैन। बलात्कार र हत्यामा संलग्न एकजनामात्र हो कि एकभन्दा बढी थिए भन्ने पनि अझै खुल्न सकेको छैन।  

बाटोबाट स्पष्ट देखिने ठाउँमा भागरथीको शव फेला परेको थियो। हत्याको भोलिपल्ट घर फर्किरहेका तीन विद्यार्थीले सडकबाटै उनको शव देखेका थिए। चडेपानी गाउँ र सिल्ल गाउँका मान्छे हिँडडुल गरिरहने बाटोबाट स्पष्ट देखिने स्थानमा दिनदहाडै बलात्कार र हत्या कसरी भयो ? यो प्रश्नले स्थानीय बासिन्दालाई रन्थन्याएको छ। शव फेला परेको भन्दा केही मिटर तल घंघारुसहितको झाडी छ।

‘बलात्कार र हत्या गर्ने भए सडकबाट देखिने ठाउँमा नगरेर यो झाडीमा गर्नुपर्ने थियो’, आइतबार नागरिककर्मीलाई घटनास्थलको अवस्था देखाउँदै स्थानीय बलदेव भट्टले भने, ‘यही ठाउँमा बलात्कार र हत्या गरेको भन्ने कुरामा हामीलाई शंका लागेको छ।’ कच्ची बाटोबाट घिसार्दै भागरथीलाई शव फेला परेको ठाउँसम्म लगेको स्थानीय बताउँछन्। कच्ची सडकबाट शव फेला परेको ठाउँसम्म बनमारा झाडीमा घिसारेको जस्तो अवशेष पनि देखिएको उनले बताए। शव भेटिएको स्थान र सडकबीचको एक ठाउँमा ढुंगामा लागेर खसेको भागरथीको शरीरको छालाको टुक्रा प्रहरीले फेला पारेको छ।  

अपराधी भूगोलको बारेमा जानकार
माघ २१ गते हराएकी भागरथीको शव भोलिपल्ट साँझ ५ बजे फेला परेको थियो। माघ २३ गते तालिम प्राप्त कुकुरले शव भएको स्थानभन्दा करिब २५ मिटर पूर्व भागरथीको मोबाइल, ब्याट्री र कभर अलगअलग गरेर फालेको अवस्थामा भेटेको थियो। कुकुर अझै सय मिटरअघि कच्ची बाटोसम्मै पुगेको थियो।

‘भागरथीलाई घिसार्दै घटनास्थलमा ल्याएको ठाउँबाटै कच्ची बाटो नगएर अपराधी सामुदायिक वनको झाडी भएर कच्ची बाटोमा पुग्नुले उसमा भूगोलको राम्रो जानकार भएको देखिन्छ’, भट्टले भने। हत्याराले चलाखी गरेकाले प्रहरीलाई पत्ता लगाउन जटिल भएको छ। ‘प्रहरीले अनुसन्धान साँघुरिएको भनेको पनि एक साता भइसकेको छ तर अझै हत्यारा पत्ता नलाग्दा निर्मला पन्तले जस्तै छोरीले पनि न्याय पाउँदिन कि भन्ने चिन्ता बढ्दै गएको छ’, भागरथीको काका शंकरदत्त भट्टले भने।

अघिल्लो राति पानी परेकोले कुकुरले अपराधी भागेको बाटो पछ्याउन नसकेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख उत्तम सुवेदीले बताएका छन्। अपराधी जंगलको बाटो हँुदै कच्ची सडकमा पुगेर कुनै सवारीसाधनमा भागेको हुन सक्ने देखिएको छ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस