फेवातालमा थुप्रिएको गेग्रान झिक्न समिति

रासस

आइतबार, ०२ फागुन २०७७, २० : ०५
फेवातालमा थुप्रिएको गेग्रान झिक्न समिति

पोखरा । गण्डकी प्रदेश सरकारले फेवातालमा थुप्रिएको गेग्रान झिक्न समिति गठन गरेको छ । चार दशकअघि निर्माण गरिएको बाँधको मर्मत गर्न तालको पानी सुकाइएपछि देखिएको गेग्रान निकाल्न समिति गठन गरिएको हो । 

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको अध्यक्षतामा आज बसेको बैठकले मन्त्रालयका जैविक विविधता महाशाखा प्रमुख रामकाजी श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।

फेवातालमा थुप्रियको माटो, ढुङ्गा, गिट्टी, बालुवालगायत वन पैदावार तथा नदीजन्य वस्तुसहित विभिन्न फोहरमैला व्यवस्थापन गरी तालको गहिराइ वृद्धि गर्ने उद्देश्यले समिति निर्माण गरिएको मन्त्री लम्सालले जानकारी दिनुभयो ।

समितिमा ताल प्राधिकरण गण्डकी प्रदेशका निर्देशक डा अनुप गुरुङ, पोखरा महानगरपालिका सहरी योजना आयोगका सदस्य सरोज कोइराला, डिभिजन वन कार्यालय कास्की प्रमुख केदार बराल, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्की प्रमुख इञ्जिनीयर किरण आचार्य, बृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकी प्रमुख रामसिंह थापा, जलाधार व्यवस्थापन कार्यालय तनहुँ प्रमुख कृष्णप्रसाद घिमिरे सदस्य रहनुभएको छ । 

तालका विभिन्न क्षेत्रमा थुप्रिएका गेग्रान निकाल्न बैठकले विभिन्न कार्यालयलाई कार्यक्षेत्र तोकेको छ । तोकिएको कार्य क्षेत्रअनुसार बाँधदेखि फिर्केखोलासम्म जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्की, फिर्केखोलादेखि कोमागाने पार्कसम्म पोखरा महानगरपालिका र ताल संरक्षण तथा विकास प्राधिकरण, बाराहीघाटदेखि खहरे क्षेत्रको अन्तिम विन्दु (गैराको चौतारा) सम्मताल संरक्षण तथा विकास प्राधिकरण पोखरा र भू तथा जलाधार व्यवस्थापन कार्यालयलाई काम गर्ने जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस