द्रुत मार्ग खुलेपछि बस्ती विस्तार तीव्र

रासस

आइतबार, ०२ फागुन २०७७, १३ : १५
द्रुत मार्ग खुलेपछि बस्ती विस्तार तीव्र

कैलाली ।  कैलालीबाट विपीनगर हुँदै डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जोड्ने द्रुत मार्ग खुलेपछि बस्ती विस्तारमा वृद्धि भएको हो । शुरुआतीका समयमा सुनसान रहेका यहाँका बस्ती अहिले बाक्लिँदै गएका छन् । बस्ती विस्तारसँगै यहाँका विभिन्न क्षेत्रमा बजार विस्तार हुन थालेको छ । बजार विस्तारले घरजग्गाको मूल्य बढेर कारोवार पनि बढ्दै गइरहेको चुरे गाउँपालिका शिवनगरका व्यापारी सुनिल विष्टले जानकारी दिए । 

द्रुत मार्ग खुलेपछि कैलालीको, हाटखोली, शिवनगर, चिम्चे, निगाली, डोटीको विपीनगर, तेलपरा, घोडीलास, खसरे, निरौली, सेरा, खहडालगायतका दर्जनौं स्थानमा बजार विस्तार भएका छन् भने केही ठाउँमा बजार विस्तारको तयारी भइरहेको स्थानीयवासी बताउँछन् । यसअघि यी गाउँमा जग्गाको कारोवार खासै नहुने गरेको गड्सेराका स्थानीयवासी लालबहादुर कामीले बताए । 

उनले भने , “बीच खेत भएर द्रुत मार्ग खुलेको छ, अहिले त यहाँ बजार विस्तारका लागि जग्गा किन्नेको हानथाप छ, जग्गा पनि महँगो हुँदै जान थालेको छ ।” उहाँका अनुसार सडक आसपास क्षेत्रमा जग्गाको मूल्य आकासिएको छ ।

सडक बनेपछि ग्रामीण भेग दिनहुँ व्यापारिक केन्द्रमा परिणत हुँदै जान थालेका छन् । यहाँका गाउँका जग्गाको मूल्य सदरमुकाम सरह हुन थालेको छ । यहाँका गाउँको बाटोहुँदैे द्रुत मार्ग पुगेपछि पसल, होटलसँगै व्यापारिक कारोवार बढेको स्थानीयवासीको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस