प्रणय दिवसमा भरिभराउ सौराहा

रासस

आइतबार, ०२ फागुन २०७७, १२ : ३८
प्रणय दिवसमा भरिभराउ सौराहा

चितवन । पर्यटकीय नगरी सौराहा प्रणय दिवस भ्यालेन्टाइन डे मा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । शुक्रबार र शनिबारको बिदा र यसपछिको प्रणय दिवसले आन्तरिक पर्यटकको आगमन उत्साहजनक भएको हो । 

 रेष्टुरेन्ट एण्ड बार एसोशिएसन रेबान सौराहाले यही अवसरमा खाद्य महोत्सवको समेत आयोजना गरेको छ । रेबानका निवर्तमान अध्यक्ष गोकर्ण गिरीका अनुसार सौराहाको हात्तीचोकदेखि गैँडाचोकसम्मको ६०० मिटर सडक किनारमा विभिन्न परिकारका कक्ष राखिएका छन् । दुईदिने महोत्सव आज सम्म जारी रहनेछ । महोत्सवका अवसरमा विभिन्न जातिका सांस्कृतिक पहिचान झल्कने खानाका परिकार राखिएका छन् । 

 यस्तै ती जातिले सांस्कृतिक प्रदर्शनीसमेत प्रस्तुत गरिरहेका छन् । उहाँका अनुसार आज  ब्राह्मणसहित विभिन्न जातिका नौ जातीय सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन् । थारु, तामाङ, कुमाल, मगर, नेवारलगायत जातिले आआफ्ना संस्कृति झल्कने प्रस्तुति देखाउने छन् । अध्यक्ष गिरीले भने , “अन्य व्यवसायी पनि उत्साहित भएका छन् ।” सबैले यस्ता कार्यक्रम हरेक शुक्रबार गर्न सुझाएको उहाले बताए । स्वीकृति पाएमा रेबानले हरेक हप्ता कार्यक्रम गर्ने उनको भनाइ थियो । 

 क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार सौराहाका सबै होटल भरिएका थिए । देशका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक घुम्न आएका छन् । समूहगतरुपमा घुम्न आउनेको सङ्ख्या पनि राम्रो रहेको उनको भनाइ छ । सङ्घका अध्यक्ष दीपक भट्टराईले आज पनि सौराहाका सबै होटल भरिने अपेक्षा गरिएको बताए । उनले भने , “लगातार बिदा र त्यसपछि परेको प्रणय दिवसले सौराहा भरिएको छ ।” 

प्रतिक्रिया दिनुहोस