भागरथी हत्याको नवौं दिनः अनुसन्धानमा प्रहरीका तीन टोली, नतिजा शून्य

पत्रपत्रिकाबाट

शनिबार, ०१ फागुन २०७७, ०६ : ४१
भागरथी हत्याको नवौं दिनः अनुसन्धानमा प्रहरीका तीन टोली, नतिजा शून्य

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा अझै पत्ता लागेको छैन ।

यही माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी भागरथीको शव २२ गते लवलेक सामुदायिक वनमा फेलापरेको थियो । भागरथीको शवको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको उल्लेख छ ।

भागरथीको हत्या भएलगत्तै घटनाको अनुसन्धानमा जुटेको प्रहरीलाई हत्यारा पत्ता लगाउन सकस भएको छ ।

नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डे नेतृत्वको टोली सुरुदेखि घटनाको अनुसन्धानमा छ भने माघ २५ गतेपछि डिआइजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले पनि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका डिएसपीको नेतृत्वमा पनि अनुसन्धान टोली खटिएको छ । डिआइजी सुवेदीले अनुसन्धान टोलीलाई आवश्यक निर्देशन दिने, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग बेलाबेलामा भेटेर घटनाका बारेमा जानकारी लिने गरेका छन् ।

उनी अहिले बैतडीमै छन् । खोचलेक प्रहरीचौकीमा बसेर उनले घटनाको अनुसन्धान गर्दै आएका छन् । नगरिक दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस