हिंसाबाट जोगिन किशोरीलाई आत्मरक्षा तालीम

रासस

विहीबार, २९ माघ २०७७, १३ : ४७
हिंसाबाट जोगिन किशोरीलाई आत्मरक्षा तालीम

काठमाडौ । महिला तथा किशोरीको आत्मरक्षाका लागि आठबिस नगरपालिकाले ‘आत्मसुरक्षा तालीम’ सञ्चालन गरेको छ ।पछिल्लो समय बलात्कार र यौनहिंसाका घटना बढ्न थालेपछि महिला तथा किशोरीले कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालीममा सिकाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले १७ सामुदायिक विद्यालयका ६६ बालिका तथा किशोरीलाई आत्मरक्षा तालीम दिएको अभियान्ता सजना सुनारले जानकारी दिईन् । तालीममा बालिका तथा किशोरीहरुलाई गलत नियतले हात समाते, पछाडिबाट अङ्गालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गर्न खोजे हिंसाबाट जोगिन सातवटा आत्मसुरक्षाका उपाय सिकाइएको उनले बताईन् ।

यो तालीमबाट एक्लै हिँडडुल गर्दा कसैले जबरर्जस्ती गर्न खोजे त्यसबाट बच्ने उपाय सिकाइएको र यसबाट किशोरीहरुको आत्मबल बढने विश्वास लिएको उनले बताईन् । नगरपालिकाले स्कुले बालिका तथा किशोरीलाई लक्षित गरेर तालीम सञ्चालन गरिएको थियो । पहिलो चरणमा सामुदायिक विद्यालयका बालिका तथा किशोरीलाई आत्मसुरक्षाको सीप सिकाएको आठबिस नगरपालिकाका उपप्रमुख दीपा बोहराले जानकारी दिईन्।

“बालिका तथा किशोरी आफन्त, छिमेकी तथा नातेदारबाटै असुरक्षित भएकाले आत्मसुरक्षाका लागि तालीम दिएका हौं”, उनले भनिन् , “आत्मरक्षा तालीम लिएका किशोरी विद्यालयका अन्य छात्रालाई पनि सिकाउने छन् ।” आत्मविश्वासको कमीले बालिका, किशोरी र महिला बलात्कारको शिकार हुने हुँदा आत्मविश्वास जगाइ आत्मरक्षा गर्ने विधि तालीममा सिकाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस