काठमाडौं । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र सञ्चालन सम्बन्धी छलफल शुरुआत भएको छ । राष्ट्रिय गौरवको सो आयोजनाअन्तर्गतको सुरुङ पुनः परीक्षणको तयारी भइरहँदा खानेपानी मन्त्रालय, आयोजना, काठमाडौँ उपत्यका खानेपानी विकास बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएल ले पानी प्रशोधन केन्द्र सञ्चालनबारे छलफल गरिरहेको हो ।
सुन्दरीजलमा पानी झारेदेखि नै केयुकेएलले पानी प्रशोधन केन्द्रमा केही सङ्ख्यामा कर्मचारी राख्ने गरी गरी छलफल भइरहेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए । पानी सो स्थानमा आएपछि पहिलो तीन महिना निर्माण कम्पनी आफैँले नै परीक्षण र सञ्चालन गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएकोे उनले बताए ।
उनका अनुसार प्रशोधन केन्द्र ठीक छ भन्ने भएपछि मात्रै लिमिटेडलाई हस्तान्तरण गर्ने योजना बनाइएको भए पनि अहिले शुरुमा नै लिमिटेडका कर्मचारी समावेश गर्ने योजना बनाइएको छ । उनले भने , “शुरुमा नै कर्मचारी त्यहाँ भएपछि हामीलाई पछि सञ्चालनमा सजिलो हुनेछ ।”
प्रशोधन केन्द्र निर्माण हुँदा संरचना सञ्चालन भएको तीन महिनाको अवधि निर्माण कम्पनीको नै हुने र कुनै समस्या आएमा उसैको हुने गरी सम्झौता भएको थियो ।
लिमिटेडका कर्मचारी शुरुदेखि नै केन्द्र सञ्चालनमा सहभागी हुँदा त्यसलाई कसरी सञ्चालन गर्ने भनी सिक्ने र केही समस्या आएको पाएमा तत्काल सच्याउन निर्माण कम्पनीलाई भन्ने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ माघ २०७७, १३ : ३७
लेखकबाट थप