प्रधानमन्त्रीको वकिललाई न्यायाधीशको प्रश्न दुई तिहाइ आएन भने फेरि विघटन गरिदिने ?

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०७७, १२ : ५०
प्रधानमन्त्रीको वकिललाई  न्यायाधीशको प्रश्न दुई तिहाइ आएन भने फेरि विघटन गरिदिने ?

काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णयको प्रतिरक्षामा बहस गर्ने वकिलले प्रधानमन्त्रीले काम गर्न नपाएकाले संसद विघटन गरेको बताएका छन् ।बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्न आएका अधिवक्ता बाबुराम दाहालले नेपालमा प्रधानमन्त्रीय शासन पद्धति रहेको भन्दै प्रधानमन्त्रीले आफुखुशी सरकार चलाउने बताए ।‘यो प्राइमिनिस्टरियल व्यवस्था हो । प्रधानमन्त्रीले सरकार चलाउने हो । यो चाइनाको जस्तो व्यवस्था होइन, सरकार पार्टीले चलाउनलाई’ उनले भने ।

उनलाई न्यायाधीश अनिलकुमार सिन्हाले प्रश्न गरे ‘एकपटक प्रधानमन्त्री भएपछि पार्टीको विधान ख्याल गर्नु पर्दैन भन्ने हो रु जवाफमा अधिवक्‍ता दाहालले प्रधानमन्त्रीले काम गर्न नपाएका कारण विघटन गरेको बताए । सिन्हाले फेरि सोधे ‘चुनाव भयो, दुई तिहाइ आएन भने के हुन्छ रु फेरि विघटन गरिदिने ?

दाहालले विघटन भन्नेबित्तिकै डराउन नपर्ने बताए । न्यायाधीश सिन्हाले फेरि सोधे ‘चुनाव भयो, बहुमत आयो तर दुई तिहाई आएन भने म दुई तिहाईको लागि चुनावमा गएको आएन भनेर गर्नुभयो भने त्यो संबैधानिक हुन्छ ? वा अर्को पार्टीले बहुमत ल्यायो र विघटन गरेर चुनाव गर्छु भन्यो भने देश कता रित जान्छ ? संविधानको अन्तिम निश्कर्ष दुई दुई महिनामा चुनाव गर्ने भन्ने हो ?दाहालले फेरि पनि प्रधानमन्त्रीले काम गर्न नपाएर विघटन गरेको बताए । सिन्हाको प्रश्नको प्रष्ट जवाफ दिएनन् ।

 दाहालपछि बहसमा आएका अधिवक्ता धर्मराज रेग्मीलाई पनि न्यायाधीश सिन्हाले सोधे, ‘प्रधानमन्त्री आफू विश्वासको मत लिन किन जानुभएन ? संविधान राजनीतिक सहमतिमा आधारित छ कि संविधानवादको सिद्धान्तमा आधारित छ ?

प्रतिक्रिया दिनुहोस