भागरथी हत्याको पोस्टमार्ट: ‘बलात्कारपछि घाँटी थिचिएको थियो’

पत्रपत्रिकाबाट

मंगलबार, २७ माघ २०७७, ०८ : ०२
भागरथी हत्याको पोस्टमार्ट: ‘बलात्कारपछि घाँटी थिचिएको थियो’

काठमाडौ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीबाट सोमबार आएको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको हो ।

प्रहरीका अनुसार अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि बीभत्स तरिकाले हत्या गरिएको, टाउको, खुट्टा, हातमा चोट लागेको, मुख र योनिबाट रगत बगेको उल्लेख छ । बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पोस्टमार्टमबाट देखिएको बताए । घिसारेको र शरीरमा घाउ पनि देखिएको उनले जनाए ।

शव फेला परेको पाँच दिन बित्दासमेत प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमकुमार सुवेदी, प्रदेश प्रहरीका एसएसपी जनक पाण्डे नेतृत्वको टोली र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट डीएसपी नेतृत्वको टोली खटिएको छ । धनगढीबाट तालिम प्राप्त कुकुर पनि अनुसन्धानका लागि ल्याइएको छ ।

डीआईजी सुवेदी घटनाको अनुसन्धान नसकिएसम्म यतै बस्ने योजनामा रहेको प्रहरी स्रोतले बताएको छ । अहिलेसम्म सोधपुछको क्रम जारी रहेकाले नियन्त्रणमा कसैलाई नलिएको बैतडीका डीएसपी अधिकारीले बताए ।

धेरै जना शंकाको घेरामा भएकाले अनुसन्धानमा ढिलाइ भइरहेको उनले जनाए । ‘अहिले हामीले मृतकसँग सम्बन्ध भएकालाई सोधपुछ गरेर घटना केलाइरहेका छौं । अनुसन्धानको दायरामा शंकास्पद धेरै जना हुनुहुन्छ, यसको रिजल्ट चाँडै ल्याउँदै छौं,’ अधिकारीले भने ।

भागरथीको शव फेला परेकै पाँच दिन बित्दासमेत घटनामा संलग्न कोही पक्राउ नपर्दा मृतकका आफन्त अपराधी उम्किने चिन्तामा छन् । विद्यालयबाट बुधबार घर नफर्केकी भागरथीको बिहीबार साँझ ५ बजेतिर शव भेटिएको थियो । दिन बित्दै जाँदा र कोही पनि पक्राउ नपर्दा न्याय पाइँदैन कि भन्ने शंका उब्जिएको मृतकका काका शंकर भट्टले बताए ।

‘हुन त प्रहरी यतै आएर अनुसन्धान गर्दै सोधपुछ गरिरहेको छ, अपराधीलाई चाँडो बाहिर ल्याउँछौं भनेर आश्वासन पनि दिइरहेको छ, फोनबाट पनि काम भइरहेको प्रहरी बताउँछ,’ उनले भने, ‘पहिलेको जस्तो छिट्टै पक्राउ पर्छ भन्ने मनोभाव हराएको छ । के हुन्छ, कस्तो हुन्छ, पत्ता लाग्छ कि लाग्दैन शंका बढेको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस