रुसमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी

रासस

सोमबार, २६ माघ २०७७, २० : ३२
रुसमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी

काठमाडौं । रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा कमी हुँदै आएको छ । गत अक्टोबर २२ पछि सोमबार पहिलो पटक रुसमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या १६ हजारभन्दा कम देखिएको अधिकारीहरूले जनाएका छन् । 

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा रुसमा १५ हजार ९१६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । एक दिनमा कूल सङ्क्रमितमध्ये राजधानी मस्कोमा मात्रै सङ्क्रमितको सङ्ख्या भने एक हजार ७२८ रहेको पनि अधिकारीहरूले जनाएका छन् । 

यसअघि मस्कोमा मात्रै एक दिनमा दुई हजार २८ जना सङ्क्रमित भएका छन् । यस तथ्याङ्कअनुसार मस्कोमा पनि दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा रुसमा कोरोनाका कारण ४०७ जनाको मृत्यु भएको छ । अघिल्लो दिनभने त्योभन्दा केही धेरै ४३२ जनाको मृत्यु भएको थियो । 

कोरोनाका कारण रुसमा अहिलेसम्म कूल ७७ हजार ६८ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।