प्रधानमन्त्री ओली निकट युवा संघमा नेतृत्वको रस्साकस्सी, संयोजक बन्नै ४ जना बिच होडबाजी

सफल खबर संवाददाता

सोमबार, २६ माघ २०७७, ०९ : ३३
प्रधानमन्त्री ओली निकट युवा संघमा नेतृत्वको रस्साकस्सी, संयोजक बन्नै ४ जना बिच होडबाजी

काठमाडौं । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको युवाहरुको संगठन राष्ट्रिय युवा संगठन नेपालको संयोजक रामप्रसाद सापकोटा (दीपशिखा) र सहसंयोजक रमेश पौडेल चुनिएका थिए । तीन वर्षको बीचमै पार्टीलाई प्रधानमन्त्री केपी ओलीले विभाजन गरे ।

त्यसपछि युवा संगठन पनि दुई टुक्रा बन्यो । सापकोटा (दीपशिखा) नेकपाको बहुमत पक्ष अर्थात नेकपाको प्रचण्ड नेपाल पक्ष तिर र पौडेल ओली पक्षतिर लागे । ओली पक्षको युवा संगठनको दोश्रो पूर्ण बैठक हिजो आईतबार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्यो । बैठकमा उपप्रधानमन्त्री इश्वर पोखरेल प्रमुख अतिथिका रुपमा पुगेका थिए । ओली पक्षले आफ्नो संयोजक नभएको जनवर्गीय संगठनमा अहिले संयोजक तोक्दै हिड्न थालेको छ । त्यही क्रममा ओली पक्षले पत्रकारहरुको संगठनको संयोजकबाट महेश्वर दाहाललाई हटाएर गणेश बस्नेतलाई संयोजक बनाईसकेको छ । 

त्यही क्रममा युवाहरुको बैठकबाट पनि संयोजक दीपशिखालाई हटाएर अन्य कुनै नेतालाई संयोजक बनाउने तयारी बैठकमा भएको थियो । तर सहसंयोजक रहेका पौडेल ओली पक्षको युवाहरुको बैठकबाट सर्वसम्मत हुन सकेनन् । संयोजकका लागि पौडेल सहित किरण पौडेल, बचन सिंह र प्रभातविक्रम कट्वालले पनि दावी प्रस्तुत गरे । महेश बस्नेत, इश्वर पोखरेल लगायतका नेता सहभागी रहेको भेलामा संयोजकको दावेदारी ४ नेताले गरेपछि नेतृत्वको लागि झगडा चर्किएको छ ।

प्रमुख अतिथि बनेर गएका पोखरेल संयोजक आफ्नो सचिवालयमा पनि रहेर सहयोगीको भूमिका खेलिरहेका प्रभातविक्रम कट्वाललाई बनाउन चाहन्छन् । तर पोखरेलले चाहना गरेका कट्वाल संगठनभित्र अन्य नेता भन्दा कमजोर छन् । उनी एकै नेताको मात्र सचिवालय भित्र रहेर बस्न रुचाउने भएकाले उनलाई संयोजक बनाउन अन्य नेताहरु तयार देखिदैनन् ।

पौडेल आफु संर्घषमा खरो उत्रिएको, दीपशिखासँग सधै जुधिरहेको र अबका दिनमा जुध्नका लागि पनि आफु नै आवश्यक रहेको तर्क गर्दै संयोजक दाबी गरिरहेका छन् । सहसंयोजक रहेको र यस अगाडी तत्कालिन एमालेको संगठनको नेता नै आफु रहेकोले स्वतः आफुले संयोजक पाउनुपर्ने दाबी पौडेलको छ । तर वचन सिंह र किरण पौडेलले आफुहरु यो पटक संयोजक नछोड्ने अडान लिईरहेका छन् । ओलीको युवा संगठन भित्र भने पौडेलको संगठनात्मक अवस्था राम्रो रहेको बताईएको छ । तर उनलाई दिने पक्षमा महेश बस्नेत, निरु पाल लगायतका नेताहरु देखिन्नन । 

यसले चारै नेताले संयोजकको दाबी नछोडेपछि पोखरेल र बस्नेतलाई युवा संगठनको नयाँ नेतृत्व चयन गर्न हिजो सकस परेको थियो । हिजै बैठकले नयाँ नेतृत्व चयन गर्दै सक्ने बताएपनि नेतृत्व चयनमा सकस देखिएपछि बैठक आज सम्म लम्ब्याइएको छ ।  आज पनि बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमै बोलाईएको सहभागी एक नेताले बताए । आजको बैठकमा प्रधानमन्त्री ओलीनै सकभर पुग्ने र उनी नगएपनि उनले जसलाई संयोजक बनाउने गरी आदेश दिन्छन, अब उनैले जिम्मेवारी पाउने लगभग देखिएको छ ।

तर संयोजकको दाबी गरिरहरेका पौडेल बाहेकका नेताहरुले भने संयोजकको विवाद मिलाउन मुश्किल परे संगठनलाई पदाधिकारीको मोडेलमा लैजानुपर्ने बताईरहेका छन् । सहसंयोजक बादल पक्षका विरु तामाङ (सुदिप) ले पाउने देखेपछि संयोजक नपाउने अन्य तीनले भने पदाधिकारी मोडेलमा जानुपर्ने पक्षमा आवाज उठाईरहेका छन् । संगठनको नेतृत्व चयनमै ओली पक्षको युवा संगठनमा रस्साकस्सी चलेपछि आन्तरिक गुटबन्दी तिव्र भएको छ । ओलीको युवा संगठनमा नेतृत्व दाबी गर्ने चार जना र बादलका विरु सहितको ५ गुट हुने लगभग देखिएको छ ।

प्रतिक्रिया दिनुहोस