बर्दीमा दम्भ देखिनु हुन्न : महानिरीक्षक शैलेश थापा

रासस

शनिबार, २४ माघ २०७७, २१ : ००
बर्दीमा दम्भ देखिनु हुन्न : महानिरीक्षक शैलेश थापा

file photo

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीले आफूलाई प्रहरी अधिकारीभन्दा पनि चिकित्सकको रुपमा बुझेर मानवीय सेवा गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रहरी अस्पताल र घुन्सा फाउण्डेसनको संयुक्त आयोजना तथा पठाओ नेपाल र विपन्नको लागि स्वास्थ्य नेपाल सहकारीको सहकार्यमा अस्पतालमा भएको रक्तदान समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरक्षिक थापाले युनिफर्मले कतिपय अवस्थामा दम्भ सिर्जना गर्ने तर चिकित्सक पेशाले निस्कामभाव माग्ने बताउनुभयो । उहाँले युनिफर्म (बर्दी)को कारण चिकित्सा पेशामा दम्भ आउन नहुनेमा जोड दिनुभयो । 

उहाँले नागरिकको सेवा गरेबापत प्रहरीलाई आत्मसन्तुष्टि प्राप्त हुने उल्लेख गर्दै अस्पतालबाट प्रदान हुने सेवामा कमि आउन नदिन नेपाल प्रहरी अस्पतालमा कार्यरत चिकित्सकलाई निर्देशन दिनुभयो ।

कोभिड–¬१९ का कारणले रक्तदान नहुँदा धेरै अस्पतालमा रगतको अभाव भइरहेको अवस्थामा यहाँ रक्तदान भएको हो । सहभागीले युवा जमात सामाजिक कार्यमा सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिएका थिए ।

अस्पतालका मेडिकल डाईरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले फाउण्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले आपसी सहकार्यमा कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो । कार्यक्रममा १०६ पुरुष र २४ महिला गरी कुल १३० जनाले रक्तदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस