सात महिनामा थपिए ५६ जना कुष्ठरोगी

सफल खबर संवाददाता

शुक्रबार, २३ माघ २०७७, १६ : २०
सात महिनामा थपिए ५६ जना कुष्ठरोगी

तस्बिर : सूर्यप्रकाश कँडेल

चितवन । चालु आर्थिक वर्षको सात महिना पुग्न एक साता बाँकी रहँदा चितवन जिल्लामा ५६ जना कुष्ठरोगी थपिएका छन् ।

६८औं विश्व कुष्ठरोग दिवसको सन्दर्भमा द लेप्रोसी मिसन नेपालद्वारा शुक्रबार भरतपुरमा आयोजित कुष्ठरोग तथा हात्तीपाइले अन्तरकृया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा बोल्दै चितवन स्वास्थ्य कार्यलय प्रमुख दीपक तिवारीले चितवनमा कुष्ठरोगको अवस्थाबारे जानकारी दिएका हुन्। उनका अनुसार हाल चितवनमा ११६ जनाले औषधि खाइरहेका छन् । नसर्ने खालको कुष्ठरोग भएकाले ६ महिना र सर्ने खालको कुष्ठरोग भएकाले १२ महिना औषधि खानु पर्ने उनले जानकारी दिए ।

लगातार तीन वर्षसम्म प्रति दस हजारमा एक जनाभन्दा कम बिरामी देखा परेमा कुष्ठरोग निवारण भएको मानिन्छ । चितवनमा लगातार दुई वर्षसम्म कुष्ठरोगीको संख्या प्रति दस हजारमा एकभन्दा कम छ । चालु आर्थिक वर्षको अहिलेसम्म पनि कम रहेको र बाँकी अवधि पनि यो वर्ष कुष्ठरोगीको संख्या प्रति दस हजारमा एकभन्दा कम भएमा चितवनमा कुष्ठरोग निवारण भएको मानिने तिवारीको भनाइ थियो ।

चितवनमा कार्यरत पत्रकारका लागि आयोजित कार्यक्रममा लेप्रोसी  मिसन नेपालकी जिल्ला संयोजक सुशीला श्रीषले हात्तीपाइले रोगबारे जानकारी गराएकी थिइन् । कार्यक्रममा २५ जना पत्रकार सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस