बालबालिकामाथि अनलाइन यौन शोषणमा वृद्धि

सफल खबर संवाददाता

शुक्रबार, २३ माघ २०७७, १३ : ५०
बालबालिकामाथि अनलाइन यौन शोषणमा वृद्धि

काठमाडौं । पछिल्लो समय बालबालिका माथि अनलाईनमार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ । बाल अधिकार र बाल संरक्षण सम्बन्धी काम गर्दै आएको बालअधिकारबादी संस्था सिविन नेपालले गरेको अध्ययन अनुसार नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको हो ।

सिविन नेपालले सन् २०२० मा सातवटै प्रदेशका ९ वर्षदेखि १९ वर्ष उमेर समुहका १७१४ जना बालबालिका तथा किशोर किशोरीमा गरिएको अध्ययनबाट बालबालिमामाथि अनलाईन मार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधरले बताए । कोभिड १९ का कारण लकडाउन भएपछि बालबालिकाको इन्टरनेटको प्रयोग गर्ने समय बढेको र जोखिममा पर्ने सम्भावना पनि उत्तिकै बढेको उनको  भनाई छ । बालबालिकाहरुले अनलाइन मार्फत नचिनेको मान्छेसँग सम्बन्ध गाँस्ने, यौन शोषणको सिकारमा पर्ने र यसका कारण शिक्षा र मानसिक स्वास्थ्यमा समेत असर पर्ने गरेको उनले बताए ।

अनलाइन मार्फत हुने यौन शोषणमा बालिकाको साथै बालकहरु पनि पर्ने गरेको अध्ययनले देखाएको छ । शोषणमा पर्दा सहयोग माग्ने विषयमा बालबालिका अनविज्ञ रहेको पनि पाईएको छ । बालबालिकालाई अनलाईनमार्फत् हुने हिंसा पनि अपराध नै हो भन्ने बुझाउन सक्नुपर्ने र बालबालिकाहरुलाई यसबारे जनचेतना जगाउन सरोकारवाला सबै सचेत हुनुपर्ने कार्यकारी निर्देशक तुलाधरले बताए । अनलाईनमार्फत हुने यौन शोषणबारे शिक्षा दिन विद्यालयको पाठ्यक्रममै राख्नु जरुरी रहेको उनको भनाई छ ।

सिविन नेपालले अध्ययनका क्रममा सरोकारवालाहरुसँग प्रत्येक्ष रुपमा भेटेर, अन्र्तवार्ता गरेर, समुह छलफल गरेर तथ्य निकालेको जनाएको छ । शुक्रबार सिविनले निकालेको तथ्य सार्वजनिक गरिएको हो । 
 

प्रतिक्रिया दिनुहोस