म्यानमारको सेनाविरूद्ध उचित कदम चाल्ने अमेरिकी राष्ट्रपति बाइडनको चेतावनी

एजेन्सी

मंगलबार, २० माघ २०७७, ०९ : ३८
म्यानमारको सेनाविरूद्ध उचित कदम चाल्ने अमेरिकी राष्ट्रपति बाइडनको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यान्मारमा सेनाले कु गरेसँगै नाकाबन्दी गर्ने चेतावनी दिएका छन् । सेनाले निर्वाचित सरकारलाई सोमबार  ‘कु’ गरेर सत्ता हातमा लिएपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो । उनले म्यानमारका सेना विरुद्ध उचित कदम पनि चाल्न सकिने चेतावनी दिएका छन् । 

म्यान्मारको सेनाले आङ  सान सुकी र अन्य निर्वाचित अधिकारीहरुलाई हिरासतमा राखेको छ, सुकीको पार्टीमाथि गत निर्वाचनमा धाँधली गरेको आरोप सेनाको छ । यसबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्ति नै जारी गरेका छन् । ‘सेनाले कहिल्यै जनताको इच्छामाथि शासन लाद्ने अवसर खोज्ने वा विश्वसनीय निर्वाचनको नतिजालाई खारेज गर्ने मौका खोज्नुुहुन्न,’ विज्ञप्तिमा भनिएको छ ।

संयुक्त राष्ट्रसंघ र बेलायतले पनि यस ‘कू’को विरोध गरेका छन् । म्यान्मारमा पहिले पनि अमेरिकाले प्रतिबन्ध लगाएको थियो  । यद्यपी, यहाँ निर्वाचित सरकार बहाल भए प्रजातन्त्र संस्थागत हुने दिशामा गएपछि पछिल्लो दशकमा नाकाबन्दी खुलेको थियो । बाइडेनले तत्कालै यस अवस्थाको मूल्याङ्कन हुने चेतावनी दिएका छन् । ‘जहाँसुकै प्रजातन्त्र खतरामा होस्, अमेरिका प्रजातन्त्रको पक्षमा हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले सेनाको यस कदमलाई प्रजातन्त्रिक सुधारमाथिको गम्भिर हमला भनेका छन् । राष्ट्रसंघले अहिले हिरासतमा राखिएका कम्तिमा ४५ व्यक्तिलाई तत्कालै रिहा गर्न माग पनि गरेको छ । युरोपेली युनियनका नेताहरुले पनि सेनाको कदमको निन्दा गरेका छन् ।  सुकीलाई हिरासतमा लिने कार्य असंवैधानिक र निन्दनिय रहेको उनीहरुले जनाएका छन् ।