कोरोना विरुद्धको खोप : अब ७ खालका दीर्घरोगीलाई

पत्रपत्रिकाबाट

मंगलबार, २० माघ २०७७, ०८ : ०२
कोरोना विरुद्धको खोप : अब ७ खालका दीर्घरोगीलाई

काठमाडौँ । सरकारले सात प्रकारका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा राखेको छ । कोरोनाले मृत्यु हुनेमा २५ प्रतिशतभन्दा बढी दीर्घरोगी पाइएकाले खोप लगाउन उनीहरूलाई प्राथमिकतामा राखिएको हो ।

मन्त्रालयका अनुसार श्वासप्रश्वासका दीर्घरोगीमा सीओपीडी (क्रोनिक अब्स्ट्रक्टिभ पल्मनरी डिजिज) र कडा प्रकारको दम भएकाहरू, असाध्य मिर्गौला रोगी, मुटुको धमनीमा समस्या भएका तथा मुटुले पूर्ण रूपमा काम नगर्ने र जटिल प्रकारका मधुमेहका बिरामीका साथै अंग प्रत्यारोपण गराएकाहरू, क्यान्सर रोगी तथा सिकल सेल एनिमिया रोगले ग्रसितहरूलाई खोप दिने योजना बनाइएको छ ।

‘दीर्घरोगी सबैभन्दा जोखिममा छन् । श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीलाई जोगाउन हामी सधैं जाडो सुरु हुनुअघि इन्फ्लुएन्जाको खोप लगाउँछौं । कोरोनाले त अझ बढी छाती रोगसहित अन्य दीर्घरोगीलाई असर गरेको पाइयो,’ शिक्षण अस्पताल महाराजगन्जका छाती रोग विशेषज्ञ एवं कोभिड–१९ उपचारका संयोजक डा. सन्तकुमार दासले भने, ‘उनीहरूलाई खोप लगाउँदा मृत्युदरमा कमी आउने निश्चित छ ।’

दीर्घरोगीमध्ये पनि मिर्गौला, फोक्सो, मुटुका विभिन्न समस्या भएका तथा क्यान्सरबाट थलिएकालाई कोरोनाले बढी सकस दिएको देखिएको उनले बताए । ‘बढी जोखिममा भएकालाई सुरक्षित गर्न खोप दिनका लागि प्राथमिकता दिनु उचित हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय अभ्यास पनि यही छ । त्यसैले सरकारको योजना स्वाभाविक हो ।’ संक्रमण युवाहरूलाई बढी देखिए पनि मृत्युदर वृद्ध र दीर्घरोगीमा बढी रहेको उनले बताए ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. अनुप बाँस्तोलाले रक्त क्यान्सरसहित कोरोनाको निमोनिया भएका कसैलाई बचाउन नसकिएको दाबी गरे । ‘कोरोनाले ६० वर्षभन्दा माथिका मधुमेह र विभिन्न प्रकारका दीर्घरोगीलाई नै सताउँदो रहेछ,’ उनले भने, ‘एउटा परिवारमा सबै संक्रमित हुँदा वृद्धवृद्धाको मृत्यु भयो भने युवा छोराछोरी बाँचे । यो अवस्था अध्ययन गर्दा वृद्धवृद्धालाई कोरोनाले च्यापेको देखिन्छ ।’ मन्त्रालयका अनुसार कोरोनाले मृत्यु हुनेमा पनि ७५ वर्षभन्दा माथिका २५ प्रतिशतभन्दा बढी छन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस