अर्थ मन्त्रालयभित्र प्रधानमन्त्री ओलीको आडमा असगर अलीको बढ्दैछ चुरीफुरी

सफल खबर संवाददाता

सोमबार, १९ माघ २०७७, १३ : ५०
अर्थ मन्त्रालयभित्र प्रधानमन्त्री ओलीको आडमा असगर अलीको बढ्दैछ चुरीफुरी

file photo

काठमाडौँ । असंवैधानिक तवरले संसद् विघटन गरेर प्रतिगमगनको यात्रामा लागेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको आशीर्वाद पाएका प्रधानमन्त्रीका विज्ञान प्रविधि सल्लाहकार असगर अलीको चुरीफुरी अर्थ मन्त्रालयभित्र दिनप्रतिदिन बढ्दै गएको छ ।

अर्थमन्त्रीमा छन् ओलीका खास मान्छे विष्णुप्रसाद पौडेल । तर मन्त्रीभन्दा पनि माथिल्लो भूमिकामा रहेर अलीले अर्थ मन्त्रालय नै कब्जा गरेका छन् । महत्त्वपूर्ण निर्णयमा हस्तक्षेप गर्ने, आफूखुसी निर्णय गराउने, कर्मचारीले नमानेको खण्डमा बा (प्रधानमन्त्री ओली) लाई भनिदिन्छु भन्दै कर्मचारीलाई धम्क्याउने काममा उनी लागेका छन् । 

नेसनल पेमेन्ट गेटवेको सम्पूर्ण हिस्सा लिने भन्दै उनले अर्थमन्त्रालयका शाखा अधिकृतदेखि सचिवसम्मलाई थर्काउने गरेको भुक्तभोगी एक सहसचिवले जानकारी दिए । ती सहसचिवका अनुसार कार्यालय खुल्नुभन्दा पहिल्यै अर्थमन्त्रालय आउने अली साँझ अबेरसम्म पनि मन्त्रालयमा नै रहने गरेका छन् । 

पछिल्ला दिनमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका पौडेल ओली गुटको भेला र गुट विस्तारमा सक्रिय छन् । उनी बाहिर सक्रिय रहेको बेलासमेत अलीले अर्थमन्त्रीका सल्लाहकार समेत रहेका राष्ट्र बैङ्कका कर्मचारी डा. प्रकाश श्रेष्ठलाई बोलाउने र आफ्नो काम गर्न दबाब दिने गरेका छन् । उनले ई–सेवालाई नै नेसनल पेमेन्ट गेटवेको जिम्मा दिने गरी निर्णय गर्ने वातावरण बनाउनका लागि सबै प्रकारका हर्कत गरेका छन् । 

मेरा बा (केपी ओली) ले सबै तयारी गर्नु भनेका छन् । सोही भएर मलाई जसरी भए पनि यो काममा सहयोग गर्नुप¥यो, अन्यथा राम्रो हुँदैन भन्दै अलीले धम्क्याएको अर्थ मन्त्रालयका ती सहसचिवको भनाइ छ । एफवान सफ्ट तथा ई–सेवा लगायतका एक दर्जनभन्दा बढी कम्पनी चलाउने अलीले अर्थ मन्त्रालयमा मात्रै नभई नेपाल राष्ट्र बैङ्कका समेत उस्तै ज्यादती बढाएका छन् ।

अर्थ मन्त्रालयमा कर्मचारीले आफूले भनेअनुसार काम नगरेपछि उनी राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको कार्यकक्षमा पनि उत्तिकै मात्रामा भेटिने गरेका छन् । उनले अधिकारीलाई लौ न गभर्नर साप मेरो काम जसरी भए पनि गरिदिनुप¥यो भन्दै कहिले फकाउने शैलीमा, कहिले धम्क्याउने शैलीमा त कहिले प्रलोभन दिने शैलीका काम गराउन दबाब दिने गरेका छन् । उनले त्यहाँ पनि ओलीको नाम लिने गरेका छन् । 

बिट क्वाइनको कारोबार

नेपालको कानुनअनुसार बिट क्वाइनको कारोबार तथा माइनिङ गर्न पाइँदैन । तर ई–सेवाले अवैध तरिकाले बिट क्वाइन माइनिङ गरिरहेको छ । उनलाई कसले रोक्ने, कसले यसो नगर भन्ने ? किनकि ओली त उनका बा नै भइहाले । 

जे–जसरी भए पनि काम गराउने, कानुन मिच्ने तथा जे–जसरी पनि अनेकन हर्कत गर्न सिपालु अलीले पछिल्ला दिनमा ओली, पौडेल तथा अधिकारीलाई मिलाएर हुने नहुने काम गर्न लागेका हुन् । अलीको सो हर्कतमा प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालको समेत उत्तिकै चासो र चिन्ता रहेको छ । किनकि अलीको कम्पनीमा रिमालको समेत लगानी रहेको छ । रिमालले आफ्ना छोरालाई समेत सो कम्पनीमा जागिर लगाएका छन् । यस्तै, ईश्वर पोखरेलको समेत उत्तिकै लगानी रहेको छ । 

ओली समूहको साधन तथा स्रोतको दुरूपयोग गर्ने तथा गराउने निकायका रूपमा ई–सेवालाई प्रयोग गरिएको छ । नेपालको साधन तथा स्रोतमाथि अवैध रूपले कब्जा गर्दै आएको अलिको समूहलाई ओलीको नै संरक्षण भएपछि कसको के लाग्दो रहेछ र ? त्यस्तै भएको छ । किनकि ओलीको संरक्षणका कारण नै नेपालका सूचना तथा प्रविधिको क्षेत्रमा काम गरिरहेको ओम्नीलाई स्वास्थ्य सामग्री खरिदमा बिन्ती गरेर ल्याइयो । अन्त्यमा सबै कुरा थाहा पाएपछि ओम्नीलाई उनै अली, रिमाल र ईश्वर पोखरेलको ग्याङले सिध्याएका हुन् । ओलीको विपक्षमा रहेका र उनीहरुको कुरा नमान्नेलाई जसरी भए पनि सिध्याउने योजनामा उनीहरु लागेका छन् ।

पछिल्ला दिनमा अलीले अर्थ मन्त्रालयमा पनि कर्मचारीलाई सोही ढङ्गले नै दबाब दिने गरेका छन् । ‘मैले भनेअनुसार गरेको खण्डमा बालाई भनेर राम्रो ठाउँमा पोस्टिङ गर्न लगाइदिउँला । राम्रो पैसा पनि दिउँला । मैले भनेको नमानेको खण्डमा के गर्नुपर्छ, मलाई राम्रोसँग थाहा छ’ अलीले एक सहसचिवलाई धम्क्याएको प्रत्यक्ष सुनेका एक शाखा अधिकृतले भने, ‘अली मन्त्री नै हो कि भन्ने शैलीमा अर्थ मन्त्रालयमा प्रस्तुत हुने गरेका छन् । उनले जसरी भए पनि आफ्नो काम गराउने र त्यसका लागि हुने नहुने, सबै प्रकारका दबाबसमेत दिने गरेका छन् ।’

अलीको ज्यादतीका कारण निर्णय गर्ने निकायका कुनै पनि कर्मचारी मन्त्रालयमा नै उपस्थित हुन छाडेका छन् । अलीले अरू कर्मचारीलाई मात्रै नभई अर्थ सचिव, राजस्व सचिवलाई समेत अप्रत्यक्ष रूपमा ध्म्क्याउने गरेका छन् । अर्थमन्त्रीले भनेको काम पनि नगर्ने, के पारा हो, मैले माथि नै भन्नुपर्ने हो भन्दै उनले सचिव शिशिर ढुङ्गानाको समेत सातो बोलाएका छन् । अर्थ मन्त्रालयको क्यान्टिनमा एक कर्मचारी भन्दै थिए, ‘देश त विचौलियाले नै चलाउने भए । अब कसको के लाग्दो रहेछ र ? एउटा विचौलिया आएर सचिवलाई धम्क्याएर बसेको छ । बोल्ने कसले हो ? गर्ने कसले हो ? केही पत्तो छैन ।’

अख्तियारको फन्दा लगाइदिने धम्की

उद्योग मन्त्रालय र कम्पनी रजिस्टार कार्यालयका कर्मचारीलाई समेत अलीले आफूले भनेअनुसार काम नगरिदिए अख्तियारको फन्दा लगाइदिने भन्दै धम्की दिएका छन् । हुँदै नभएका अदृश्य कम्पनी दर्ता गर्न अलीलले दबाब दिएको स्रोतको दाबी छ । 

तपाइँमाथि यस्तो आरोप लाग्यो नि त भन्ने प्रश्न सोध्न पटकपटक अलीको एनसेल र एनटीसीका दुवै नम्बरमा फोन गर्दासमेत उनी सम्पर्कमा आएनन् । कुनै म्यासेज पनि गरेनन् ।