‘घुमौँ सौराहा’ अभियानले तान्यो पर्यटक

रासस

सोमबार, १९ माघ २०७७, ११ : ३६
‘घुमौँ सौराहा’ अभियानले तान्यो पर्यटक

file photo

चितवन । कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै यहाँको सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् । 

व्यवसायीले अङ्ग्रेजी नयाँ वर्ष अघि ‘घुमौँ सौराहा’ अभियान गरेका थिए । त्यतिबेला उनीहरूले प्रदेश नं २ र ३ का मुख्य शहरी क्षेत्रमा पुगेर अभियान चलाएका थिए । व्यवसायीले विराटनगर, धरान, जनकपुरलगायत पूर्वी नेपालका मुख्यमुख्य शहरमा कार्यक्रम गरेका थिए । ती कार्यक्रममा नेपाल सरकारको पर्यटन बोर्ड र स्थानीय तहहरूको सहयोग रहेको थियो । 

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार अभियानसँगै पूर्वी नेपालका पर्यटक पनि सौराहा आउन थालेका छन् । पारिवारिक र युवायुवती घुम्न आउने क्रम बढेको छ । उनले भने, “विगतमा विद्यार्थी बढी आउँथे, अहिले पारिवारिक भ्रमण आउने बढी छन् ।” शुक्रबार र शनिबारसँगै बिदाको दिनमा आधाभन्दा बढी होटल भरिन थालेका छन् । अन्य दिनमा पनि यो सङ्ख्या ४० प्रतिशत हाराहारी हुने गरेको उनले जानकारी दिए । 

कोभिड–१९ सङ्क्रमणपछि ठप्प रहेका सबै होटल खुल्न थालेका छन् । व्यवसायीमा पनि उत्साह थपिएको उनले भने । सङ्घका पूर्वअध्यक्ष एवं अभियानका संयोजक सुमन घिमिरेले कार्यक्रमले राष्ट्रियरुपमा नै प्रचारप्रसार भएको बताए । जसका कारण पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको भन्दै उनले यसै महिना अन्य प्रदेशका शहरमा पनि अभियान लिएर जाने तयारी गरिएको जानकारी दिए । उनले भने, “यस्ता अभियान र स्थानीय सञ्चारमाध्यममा नियमित प्रचारप्रसार गर्न सकेमा आन्तरिक पर्यटक भित्र्याउन सकिन्छ ।”

रेष्टुराँ एण्ड बार एशोसिएशन ९रेवान० सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले पछिल्ला दिनहरूमा आन्तरिक पर्यटकको निकै राम्रो उपस्थिति रहेको बताए । बिदाका दिनमा भीडभाड हुने गरेको भन्दै उनले अन्य दिनमा पनि पर्यटकको आगमन सन्तोषजनक हुँदै गएको जानकारी दिए । अभियान सौराहाका लागि महत्वपूर्ण बनेको भन्दै उनले यहाँको महत्वको बारेमा देशभर प्रचारप्रसार गर्न सकेमा पर्यटक भित्र्याउन सकिने अभियानले पाठ सिकाएको बताए । 

सौराहामा अहिले होटल रेष्टुराँले आन्तरिक पर्यटकलाई २० देखि ४० प्रतिशत छुट दिँदै आएका छन् । नेपालमै रहेका र बाहिरबाट आएका विदेशी पर्यटक पनि आउन थालेको खतिवडाले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जमा वन, वनस्पति र वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोही यहाँका मुख्य आकर्षक हुन् । यहाँ हात्ती सयर, डुङ्गा सयर, जीप सफारी, पैदलयात्रामार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गराइने गरिन्छ । सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुराँ सञ्चालनमा छन् ।