रङ्गशाला सहयोगार्थ स्टार क्रिकेट २०२१ हुने

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०७७, १४ : १७
रङ्गशाला सहयोगार्थ स्टार क्रिकेट २०२१ हुने

काठमाडौं । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगार्थ क्रिकेट प्रतियोगिता हुने भएको छ । 
कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा निर्माण भइरहेको रंगशालामा केही आर्थिक सहयोग हुने अपेक्षासहित गृष्मा ब्रोडकास्टिङले निर्माणाधिन रङ्गशालामा ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना हुने भएको हो।

शनिबार काठमाडौँमा आयोजित प्रेस मिटमा स्टार क्रिकेट २०२१ु को बारेमा जानकारी दिइएको हो। आयोजित प्रेस मिटमा उपस्थित कलाकार र खेलाडीले क्रिकेटसमेत खेलेका थिए।

नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी सहभागी हुने टुर्नामेन्टमा दुई समूह बाँडिएको छ। दुई समूहलाई धुर्मुस र सुन्तलीले नेतृत्व गर्नेछन् भने मैदानमा धुर्मुस सुन्तली बिच प्रतिस्पर्धा हुनेछ।

एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्नेछन्।

टुर्नामेन्ट माघ २४ गते चितवनको निर्माणाधीन रङ्गशालामा हुनेछ। टुर्नामेन्टबाट उठेको सम्पूर्ण रकम रङ्गशालाको निर्माणमा प्रदान गरिने आयोजकले बताएको छ।

प्रतिक्रिया दिनुहोस