१० वर्षसम्म आमाको शव फ्रिजभित्र लुकाएपछि....

एजेन्सी

आइतबार, १८ माघ २०७७, १२ : ३४
१० वर्षसम्म आमाको शव फ्रिजभित्र लुकाएपछि....

एजेन्सी । जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । 

आफ्नी आमाको मृत्यु भएको थाहा भएपछि आफू घर छोड्नुपर्ने डरले उनलाई फ्रिजमा राखेको ती महिलाले बताएकी छन् । 

प्रहरीले भन्यो, “४८ वर्षीया युमि योशिनोलाई आफ्नी आमाको मृत शरीरलाई अन्तिम संस्कार गरी व्यवस्थापन गर्नुको सट्टा फ्रिजमा लुकाएर राखेको र पछिल्लो केही समय त्यहाँबाट भागेको आरोपमा पक्राउ गरिएको छ ।” 

महिलाको दावी अनुसार त्यो मृत शरीर एक दशक पहिलेदेखि टोकियोको एक अपार्टमेन्टमा फ्रिजभित्र राखिएको थियो । योशिनोलाई शुक्रबार टोकियो नजिकैको चिबा शहरको एउटा होटलमा पक्राउ गरिएको छ ।

समाचारहरूमा जनाइएअनुसार योशिनोलाई भाडा भुक्तानी नगरेपछि जनवरीको मध्यतिर अपार्टमेन्ट छोड्न भनिएको थियो । त्यसपछि कोठाको सरसफाई गर्ने एक व्यक्तिले ती महिलाको कोठामा फ्रिजभित्र लुकाइएको शव फेला पारेका थिए ।

शवको परीक्षणबाट महिलाको मृत्युको कारण र मृत्यु भएको समय पत्ता नलागेको तर ती महिलाको शरीरमा देखिने खालको चोटहरू नभेटिएको उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस