कोरोना कहर : १८९ दिनपछि शून्य मृत्यु

पत्रपत्रिकाबाट

शुक्रबार, १६ माघ २०७७, ०८ : ००
कोरोना कहर : १८९ दिनपछि शून्य मृत्यु

काठमाडौँ । कोभिड–१९ संक्रमणले नेपालमा ६ महिनापछि बिहीबार कसैको पनि मृत्यु पुष्टि भएन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार यसअघि साउन ४, ५ र ८ गते कोभिडले कसैको मृत्यु भएको थिएन ।

‘त्यसपछि कोभिडले मृत्यु दिनहुँ हुँदै आएकामा १ सय ८९ दिनपछि बिहीबार कसैको ज्यान गएको पाइएन,’ उनले भने । हालसम्म नेपालमा कोभिडबाट २ हजार २० जनाको मृत्यु भइसकेको छ ।

विज्ञहरूले भने कोभिडबाट मृत्युदर र संक्रमणमा कमी देखिए पनि उच्च जोखिम कायमै रहेको जनाएका छन् । उनीहरूले मुलुकमा खोप लगाउन सुरु भएको भन्दै स्वास्थ्य लापरबाही बढेकामा चिन्तासमेत व्यक्त गरेका छन् ।

‘देशभर संक्रमणको ट्रेन्ड (प्रवृत्ति) घटेको छ तर जोखिम घटेको देखिँदैन, दिनहुँ भीडभाड भइरहेकै छ’, स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का निर्देशक डा। कृष्णप्रसाद पौडेलले भने, ‘बिहीबार एक जनाको पनि मृत्यु नहुनु सकारात्मक भए पनि यही आधारमा केही निष्कर्ष निकाल्न सकिँदैन ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले पनि कोभिड संक्रमितको संख्या कम हुँदा सहज जस्तो देखिए पनि उच्च जोखिम कायमै रहेको बताए । ‘हाल विश्वभरि नै कोभिडको नयाँ भाइरसको कुरा आइरहेको छ र यसबाट हामीसमेत अछूतो रहँदैनौं,’ उनले भने । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।अधिकारीले खोप आइसके पनि मास्क, सामाजिक दूरी, हातको सरसफाइ जस्ता जनस्वास्थ्यको मापदण्ड अपनाउनुपर्नेमा जोड दिए । कोभिड संक्रमण आक्रामक रूपमा देखिए थेग्न गाह्रो हुने ईडीसीडीका निर्देशक डा। पौडेलले बताए ।कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस