‘द कपिल शर्मा शो’ बन्द हुने

एजेन्सी

सोमबार, १२ माघ २०७७, १७ : १४
‘द कपिल शर्मा शो’ बन्द हुने

नयाँ दिल्ली । चर्चित भारतीय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ। विगत दुई वर्षदेखि दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएको हास्यप्रधान ‘द कपिल शर्मा शो’ ले यही फेब्रुअरी मध्यबाट केही समयका लागि ‘ब्रेक’ लिन लागेको भारतीय अखबार टाइम्स अफ इन्डियाले जनाएको छ। 

सन् २०१८ डिसेम्बरदेखि कार्यक्रम सञ्चालन भइरहेको यो शोका प्रस्तोता कमेडियन कपिल शर्मा हुन् भने उनीसँगै किकु शारदा, कृष्णा अभिषेक, भारती सिंह, अर्चना पुरन सिंह लगायत कमेडियनको प्रस्तुति छ। 

‘रिपोर्टहरू अनुसार कार्यक्रम बन्द गरेर के गर्ने भन्ने योजना छैन। द कपिल शर्मा शो विभिन्न कारण दर्शकमाझ निकै रूचाइएको कार्यक्रम हो। कार्यक्रममा उपस्थित दर्शक र उनीहरूको कथा मुख्य कारण थियो,’ एक श्रोतले टाइम्स अफ इन्डियालाई भनेका छन्, ‘तर महामारी कारण लाइभ दर्शकको कमी छ। फिल्महरू सार्वजनिक हुन पाएका छैनन्। बलिउड कलाकारहरू कार्यक्रममा आउन पनि डराइरहेका छन्। यस्तोमा निर्माण टोलीले कार्यक्रम सञ्चालनबाट ब्रेक लिँदा उचित ठाने कि भन्ने छ।’

अहिले कपिलकी श्रीमती गिन्नी दोस्रो बच्चासँगै गर्भवती छिन्।

‘कपिललाई यस कारण पनि ब्रेक चाहिएको हुन सक्छ। यता काम भएन भने घर र परिवारलाई समय दिन भ्याउँछन्। द कपिल शर्मा सो तीन महिनापछि, अवस्था सामान्य भएसँगै पुनः सञ्चालन हुनसक्ने सम्भावना छ।’

यद्यपि कपिलले ‘द कपिल शर्मा शो’ को अहिलेको सिजन बन्द गर्ने र नयाँ सिजन सुरु गर्ने विषयमा कुनै घोषणा गरेका छैनन्। 

कपिलले हालै आफूले डिजिटल प्लेटफर्म नेटफ्लिक्ससँग सहकार्य गर्न लागेको खुलाएका थिए। इन्स्टाग्राममा भिडिओ सेयर गर्दै उनले लेखेका थिए, ‘यहाँ निकै खुसीको कुरा छ। हल्लाहरूको पछि नलाग्नुस् म छिट्टै नेटफ्लिक्समा आउँदैछु।’
 

प्रतिक्रिया दिनुहोस