बेलायत । बेलायतमा कोरोना भाइरसको नयाँ रुपमा विषयमा उठेका प्रश्नबारे देशका वैज्ञानिक र विशेषज्ञहरुले प्रतिप्रश्न गरेका छन् । प्रधानमन्त्री बोरिस जोनसोनले कोरोना भाइरसको नयाँ स्ट्रेनलाई लिएर बयान दिएपछि यो सवाल–जवाफको शृंखला सुरु भएको हो ।
जोनसोनले भाइरसको नयाँ रुप पहिलेभन्दा अधिक घातक हुनसक्ने बताएका थिए । वर्ष २०२० को अन्त्यमा कोरोना भाइरस संक्रमणका जति पनि मामिला बाहिर आए, त्यस आधारमा हेर्दा नयाँ स्ट्रेन घातक हुनसक्ने अभिव्यक्ती उनले दिएका थिए ।
प्रधानमन्त्रीले न्यु एन्ड इमर्जिङ रेस्पिटेरी भाइरस थ्रेट्स एडभाइजरी ग्रुपका विशेषज्ञहरुद्धारा उपलब्ध गराइएका आँकडाका आधारमा यो अभिव्यक्ति दिएका थिए । बेलायतमा भाइरसको यस रुपबाट बचाउनका लागि लगाइँदै आएको खोप प्रभावकारी रहेको पनि उनले बताएका थिए । बेलायतमा फाइजर–बायोनटेक र अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित खोपलाई प्राथमिकताका आधारमा मानिसहरुलाई लगाइँदै आएको छ ।
जहाँसम्म प्रधानमन्त्री बोरिस जोनसोनको अभिव्यक्तिको कुरा छ, यसबारे बेलायतको पब्लिक हेल्थका मेडिकल निर्देशक डाक्टर योवोन डोयले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनका अनुसार वर्षको अन्त्यमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार पहिलेको तुलनामा अधिक घातक हो या होइन भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन ।
अन्य शोधकर्ताहरु पनि यही मान्छन् । उनीहरुका अनुसार कोरोना भाइरसको नयाँ प्रकार अधिक घातक भन्नु हतारो हुनेछ । यसबाट धेरै मृत्यु भएको आशंका गर्नुपनि हतारो नै हुने उनीहरुको तर्क छ । बेलायतमा सार्वजनिक भएको नयाँ रिपोर्टअनुसार कोरोना भाइरसको नयाँ प्रकारको संक्रमणबाट मृत्यु हुने ६० वर्ष आयुुमाथिका मानिसहरुको संख्या औसत १ हजारमा १० छ, जबकी पुरानो प्रकारले १ हजारमा ३ जनाको ज्यान लिएको थियो । त्यसैगरी ४० वर्षमाथिका मानिसहरुमा यो संख्या १ हजारमा दुई छ, जबकी पुरानोे भाइरसमा यो संख्या औसत २ दशमलव ५ थियो ।
प्रधानमन्त्री जोनसोनले कोभिड १९ को नयाँ प्रकार र यसको बढ्दो फैलावटका कारण स्वास्थ सेवाहरुमा जर्बदस्त दबाब थोपरिएको चेतावनी देशवासीहरुलाई दिएका छन् । पछिल्लो २४ घण्टामा बेलायतमा ४० हजार नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ अधिकारीहरुका अनुसार नयाँ स्वरुपको कोरोनाको संक्रमण पुरानो संक्रमणको दाँजोमा ३० देखि ७० प्रतिशत बढी देखिएको छ । त्यसैकारण देशका धेरै हिस्सामा लकडाउन गरिएको छ । संसारमा कोरोनाबाट अत्यधिक संक्रमित हुने देशको सुचीमा बेलायत पाँचौ स्थानमा छ । वल्र्डोमिटरको आँकडाअनुसार यहाँ अहिलेसम्म कुल ३६ ला १७ हजार ४ सय ५९ जना संक्रमित भइसकेका छन् । त्यस्तै, ९७ हजार ३ सय २९ जनाको मृत्यु भइसकेको छ । अत्यधिक प्रभावित देशको सुचीमा अमेरिका पहिलो, भारत दोस्रो, ब्राजिल तेस्रो र रुस चौथो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ११ माघ २०७७, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित
बेलायतका राजा चार्ल्ससमक्ष राजदूत घिमिरेद्धारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
विमानलाई पहाडको नजिकै लगेपछि पाइलट निलम्बित
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ