सङ्कटका बेला गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा

रासस

शनिबार, १० माघ २०७७, १८ : ४२
सङ्कटका बेला गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा

file photo

काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)को विशेष महाधिवेशन आजदेखि शुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।

एनआरएनएको विशेष साधारणसभाको आज भर्चुअल उद्घान गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो । मन्त्री ज्ञवालीले संघले संकटका बेला आफ्नो  औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको जनाउनुभयो । मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गर्दै भन्नुभयो,  संकटको  यस अहं परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ ।

नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीलाई औपचारिक रुपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले  नेपाल सरकारको विदेश नीतिअन्तर्गत विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने नीति तय गरिएको जानकारी दिनुभयो । 

महाधिवेशनलाई  सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विपन्न देश नेपालमा ठूलो लगानीको आवश्यकता रहेको र विदेशमा हरेक नेपालीले नेपालको उत्पादनमूलक क्षेत्रमा  लगानी ल्याउन जोड दिनुपर्ने बताउनुभयो ।

एनआरएनका प्रमुख संरक्षक तथा पूर्वाध्यक्ष शेष घलेले संस्थालाई साझा सङ्गठनका रुपमा अघि बढाएर सानो संयुक्त राष्ट्र संघका रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । अर्का पूर्वाध्यक्ष देवमान हिराचनले विधान संशोधन, एनआरएन फाउण्डेशनन, भिजन २०२० लगायत विषयमा घनीभूत छलफल गर्न सुझाव दिनुभयो ।  

संघका संरक्षक तथा पूर्वाध्यक्ष जीवा लामिछानेले  कोरोना भाइरसको संक्रमणले विश्वको अर्थतन्त्र आक्रान्त रहेको बेला सबै मिलेर सामना गर्नाको विल्कप नभएको  बताउँदै गैरआवासीय नेपालीले आर्जन गरेको विश्वासलाई कायम राख्न र  संघको शाख बचाइराख्न सबैलाई आग्रह गर्नुभयो ।

एनआरएनएका निवर्तमान अध्यक्ष भवन भट्टले सबै हात एकै साथ अभियानअनुसार सबैलाई संस्थाको विकासका लागि एकता आह्वान मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएकाले नेपालमा लगानीका लागि जोड दिनुभयो ।

कार्यक्रममा एनआरएनएका संस्थापक  रामप्रताप थापाले संस्थाभित्र मेरो र तेरो नभई सामूहिक रुपमा  हाम्रो भन्ने भावनाले अघि बढ्नुपर्नेमा जोड दिनुभयो  ।महाधिवेशनमा  एनआरएनएका सल्लाहकार कुल आचार्य, टिबी कार्की, उपाध्यक्ष डा बद्री केसी, सोनाम लामालगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस