आर्थिक क्षेत्रका सुचकहरु सकारात्मक : अर्थमन्त्री पौडेल

सफल खबर संवाददाता

बुधबार, ०७ माघ २०७७, १४ : १९
आर्थिक क्षेत्रका सुचकहरु सकारात्मक : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले देशको आर्थिक क्षेत्रका सुचकहरु सकारात्मक रहेको बताएका छन् । 

बुधबार कृषि विकास बैंक लिमिटेडको ५४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशको अर्थिक क्षेत्रको सुचकहरु सकारात्मक रहेको बताएका हुन् । कोभिड १९ को कारणले राजस्व परिचालनका केही सन्दर्भमा प्रतिकुलता रहेपनि अन्य क्षेत्रमा आर्थिक सुचकहरु सकारात्मक रहेको उनको भनाई छ । 

उनले कोभिड १९ को बावजुद पनि देशको अर्थतन्त्रलाई गतिशील, चलायमान र उत्पादनशील बनाउन प्रयत्नरत रहेको बताए । मन्त्री पौडेलले नेपाल कोभिडविरुद्ध सहि नीति, सहि योजना र प्रभावकारी कार्यान्वयनका साथ अघि बढेको भन्दै छिटोभन्दा छिटो कोभिडविरुद्धको भ्याक्सिन आयात गरेर आमनागरिकलाई निःशुल्क उपलब्ध गराउने जानकारी दिए । खोप फ्रन्टलाइनबाट शुरु गरेर क्रमशः आमनागरिकमा पु¥याउने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल सरकारले डिजिटल फ्रेमवर्क लागु गरेको र वित्तीय क्षेत्रलाई यसले विशेष रुपले समेट्ने भएकोले बढीभन्दा बढी विद्युतीय कारोबार होस् भन्ने हिसाबले राष्ट्र बैंक अघि बढेको बताए । यसबाट सुशासन कायम हुने अपेक्षा गरिएको उनको भनाई छ । कृषिमा आधुनिकिकरण गर्ने धेरै सम्भावना मुलुकमा भएकाले कृषि विकास बैंकले अन्य क्षेत्रमा भन्दा विशेषगरी कृषि क्षेत्रमै लगानी गर्नुपर्ने उनले बताए ।

कृषि विकास बैंक लिमिटेडका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैंकले आगामी दिनमा उच्चमुल्य प्राप्त हुने फलफुलमा कर्जा बिस्तार गर्ने बताए । त्यसैगरी गाई भैंसी फार्ममामा पनि लगानी बिस्तार गर्ने योजना रहेको उनको भनाई छ । बैंकले उत्पादन र उत्पादकत्व बढाउने तर्फ काम गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस