नेपालमा भारतले आज देखि कोरोना खोप उपलब्ध गराउने

सफल खबर संवाददाता

बुधबार, ०७ माघ २०७७, ०९ : १६
नेपालमा भारतले आज देखि कोरोना खोप उपलब्ध गराउने

काठमाडौं । भारतले आज देखि नेपालमा कोभिड १९ को खोप उपलब्ध गराउने भएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर आज देखि नेपाल लगायतका छिमेकी मुलुकमा कोरोनाको खोप अनुदान स्वरुप उपलब्ध गराउन लागिएको जानकारी गराएको छ ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार जनवरी २० तारिख (आज) देखि आफ्ना छिमेकी देश भुटान, मालदिभ्स, बंगलादेश, म्यान्मार, ससेल्ससहित नेपालमा कोरोना खोप पठाउन लागेको हो । आज मालदिभ्समा खोप पठाइने र अन्य मुलुकमा पनि क्रमशः वितरण गरिने भारतको विदेश मन्त्रालयले जनाएको छ ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ नेपाल लगायत छिमेकी मुलुकलाई सहयोग स्वरूप भारत सरकारले दिने भएको हो । भारतको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘छिमेकी देशहरूबाट भ्याक्सिन उपलब्ध गराउन आग्रह गरिएको छ । बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश र म्यानमारलाई खोप आपूर्ति गर्छौं ।’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मंगलबार ट्विट गर्दैै बुधारबारदेखि मित्र राष्ट्रमा खोप आपूर्ति सुरु गर्ने जानकारी दिएका छन ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका क्रममा नेपाललाई कोरोना खोप उपलब्ध गराउने विषयमा जानकारी गराएको थियो । नेपालले पनि भारतसँग कोरोनाको खोप उपलब्ध गराउन सहयोग गरिदिन आग्रह गरेको थियो । त्यही नेपालको आग्रहका आधारमा भारतले आज देखि नै नेपाल लगायतका छिमेकी मुलुकलाई खोप उपलब्ध गराउन लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस