ऊर्जा क्षेत्रको कामको लागि एमसीसी पर्खेर बस्न नहुने

सफल खबर संवाददाता

बुधबार, २९ पुस २०७७, १४ : ४५
ऊर्जा क्षेत्रको कामको लागि एमसीसी पर्खेर बस्न नहुने

फाइल तस्विर

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामको निम्ति मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्नु नहुने बताएका छन् । 

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामको लागि एमसीसी पर्खेर बस्न नहुने बताएका हुन् । 

विद्युत खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेकोले एमसीसीलाई नपर्खी ट्रान्समिसन लाइनहरु देशकै लगानी अथवा अरु नै कुनै लगानीबाट तुरुन्तै बनाउनु पर्ने उनले बताए । एमसीसी लागु गर्ने अथवा खारेज के गर्ने भन्ने विषय छिटोभन्दा छिटो टुंग्याउनुपर्ने उनको भनाई छ ।

ऊर्जा मन्त्री रायमाझीले बेलाबेलामा विद्युत जाने समस्या विद्युत भार बढी भएको र कमजोर संरचनाका कारण भएको स्पष्ट पारे । विद्युतको अपर्याप्तताका कारण बिद्युत काटिएको नभई पुरानो संरचनाका कारण बेला बेला जाने गरेको उनको भनाई छ । 

मन्त्री रायमाझीले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको बिहीबारदेखि हुने भारत भ्रमणमा दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्ने र नेपाल भारतबीचको अन्तरविरोध न्यूनीकरण गर्ने विषयमा छलफल हुने जानकारी दिए । मन्त्री ज्ञवालीको भारत भ्रमण परराष्ट्र मन्त्री स्तरीय नियमित भ्रमण रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस