संसद विघटनविरुद्ध संघर्ष : नेकपा चितवनले बुझायो विरोधपत्र

सफल खबर संवाददाता

शुक्रबार, २४ पुस २०७७, १५ : २९
संसद विघटनविरुद्ध संघर्ष : नेकपा चितवनले बुझायो विरोधपत्र

चितवन । संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिएको नेकपा (प्रचण्ड–माधव) चितवनले आज प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाएको छ । 

भरतपुरको केन्द्रीय बसपार्कबाट ठूलो जुलुसका साथ नेकपा चितवनले विरोध प्रदर्शनका बीच जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको हो । नेकपा चितवनले ज्ञापनपत्र बुझाउनुअघि बसपार्कमा आमसभासमेत गरेको थियो । 

आमसभामा नेकपा चितवनका इन्चार्ज कृष्ण खनालले संसद भंग गर्ने प्रधानमन्त्रीको निर्णयको विरोध गर्दै पूर्वघोषित कार्यक्रमअनुसार चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत विरोधपत्र बुझाइएको बताए । उनका अनुसार नेकपा (प्रचण्ड माधव) पक्षले आज देशभर विरोध सभा गरेको छ । इन्चार्ज खनालले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेका छन्, जसको विरोधमा आज ७७ जिल्लामा विरोध सभा गर्दै विरोधपत्र बुझाइएको छ ।’ 

कार्यक्रममा इन्चार्ज खनाल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, प्रदेश सांसदहरु रामलाल चौधरी, घनश्याम दाहाल (अविनाश), कञ्चन खनाल, माडी नगर प्रमुख ठाकुर ढकाललगायतको टोलीले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाइएको थियो ।  

विरोधपत्र बुझाउँदै नेकपा चितवनका जिल्ला अध्यक्ष यमबहादुर परियारले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएको बताए । उनले प्रधानमन्त्रीले चालेको असंवैधानिक विरोधपत्रलाई प्रधानमन्त्री कार्यालयसम्म पुग्नुपर्ने बताउँदै विरोधपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए । प्रमुख जिल्लाअधिकारीलाई विरोधपत्र बुझाउनुअघि विशाल ¥यालीको समेत आयोजना गरिएको थियो । विभिन्न नारासहित गरिएको ¥यालीमा हजारौँ नेकपा चितवनका कार्यकर्ताको उपस्थिति रहेको थियो । 

विरोधपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निकायमा विरोधपत्र पठाउने आश्वासन दिएका थिए । गत पुस ५ गते सरकारले प्रतिनिधि सभा भंग गर्दै आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेको छ । तर सरकारको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सबै राजनीतक दल तथा नागरिक समाजका अगुवाहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले संसद पुनः सञ्चालन नभएसम्म आन्दोलनलाई जारी राख्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस