‘कोरोनाको दोस्रो छाल आए हामी डुब्छौँ’

सफल खबर संवाददाता

विहीबार, २३ पुस २०७७, १९ : ०७
‘कोरोनाको दोस्रो छाल आए हामी डुब्छौँ’

काठमाडौं । अहिलेकै भाइरसको संक्रमण जोखिम उच्च रहेका बेला फेरि विश्वका विभिन्न मुलुकमा नयाँ स्वरुपको कोराना भाइरस फैलिएको छ । यसलाई कोरोनाको दोस्रो छालको रुपमा लिइएको छ । कोभिड–१९ भन्दा धेरै संक्रामक मानिएको यस भाइरसको जोखिम नेपालमा पनि उत्तिकै छ । 

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा खटिइरहनु भएका सरुवारोग विशेषज्ञ डा अनुप बाँस्तोलाले बेलामै सचेत नभए परिणाम निकै खतरनाक हुनसक्ने चेतावनी दिए ।

फेसबुकमा लामो स्टाटस लेख्दै डा बाँस्तोलाले यस्तो लेखेका छन् –

हामी कोरोना भाइरसको पहिलो छालबाट तंग्रिने अवस्थामा छौं । तथापि, पूर्ण सुरक्षित भइसकेका छैनौं । अहिले नै हामीले सुरक्षाका सारा मापदण्ड तोड्न थालिसक्यौं । कोरोना भाइरसको नयाँ प्रजाति र संभावित  दोस्रो छालको चर्चा हुँदै गर्दा हाम्रो यो लापरबाही निकै खतरनाक साबित हुन सक्छ ।
कोभिड(१९ महामारीको शुरुवाति दिनजस्तै स्वास्थ्यकर्मी र उनका परिवार नयाँ प्रजातिको कोरोना भाइरसको उच्च जोखिममा रहनेछन् । कोभिड १९ को संक्रमण संख्या घट्दै जाँदा स्वास्थ्यकर्मीका लागि पीपीईको उपलब्धता कम हुनु र हेलचेक्र्याँइ बढ्नु घातक हुन सक्छ ।

चीनमा भाइरस देखिँदा नेपालमा आइपुग्दैन भन्ने मानसिकता हावी भएजस्तै अहिले कोरोनाको नयाँ प्रजातिलाई हलुका रूपमा लिनु मूर्खता हुन सक्छ । जबकि, कोरोनाको नयाँ प्रजाति छिमेकी भारतसहित ३७ देशमा घुमिसकेको छ । त्यसैले, अबका दिनमा अझ चुस्त निगरानी, पर्याप्त परीक्षण र आइसोलेसमा जोड दिन आवश्यक छ ।

कोभिड १९ को पहिलो छालबाट तैरिनै लाग्दा, मापदण्ड नअपनाउने, रोकथामका उपायलाई बेवास्था गर्ने र जताततै खुला छाड्ने हो भने नयाँ प्रजातिसहितको दोस्रो छाल आएमा हामी डुब्ने निश्चित छ । किनकि, कोरोना भाइरसको नयाँ प्रजाति झनै संक्रामक देखिएको छ । 
संक्रमण ग्रस्त क्षेत्रबाट नेपाल भित्रिने ठाउँमा उच्च सतर्कता, हरेक व्यक्तिको पहिचान, अनिवार्य परीक्षण, क्वारेन्टाइनरआइसोलेसनबिना हामीले कोरोनाको सम्भावित दोस्रो छाललाई रोक्नै सक्दैनौं । सँगसँगै कोरोनाको नयाँ प्रजाति आउँछ कि भनेर रोकथाम गर्न र आइसक्यो कि भनी अनुसन्धान गर्न उत्तिकै जरुरी छ ।
 

प्रतिक्रिया दिनुहोस