प्रतिनिधीसभा विघटनको विरोध

अनेरास्ववियूका विद्यार्थीले गरे प्रधानमन्त्री ओलीको पुत्ला दहन

सफल खबर संवाददाता

विहीबार, २३ पुस २०७७, ०८ : ३८
अनेरास्ववियूका विद्यार्थीले गरे प्रधानमन्त्री ओलीको पुत्ला दहन

काठमाडौं । प्रधानमन्त्री केपि ओलीद्वारा असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभाको विघटनको विरोधमा आन्दोलनरत अनेरास्ववियूका विद्यार्थीहरुले आज चितवनका विभिन्न क्याम्पसमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । 

अनेरास्ववियू केन्द्रिय कमितिको सर्कुलर बमोजिम उनीहरुले आज बिहान पुत्ला दहन गरेका हुन् । भरतपुरको सप्तगण्डकी, एनपिआई, बालकुमारी र विरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरुले कलेज परिसरमा पुत्ला दहन गरेका हुन् । 

अनेरास्ववियूले पहिलो चरणको आन्दोलन पश्चात थप दबाब सिर्जना गर्ने उद्येश्यले  दोश्रो चरणमा सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ ।   आन्दोलन अन्तर्गत पौष २१ गतेदेखि ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, पौष २१ गते प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने,पौष २२ गते उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर लाल्टिन, स्टिी, लाठी जुलुस, पौष २३ गते  देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने जनाएको थियो । 

त्यसैगरि  पौष २४ गते  जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र तथा धर्ना,पौष २५ गते असंवैधानिक कदम विरुद्ध सडक बहस कार्यक्रम, पौष २६ गते बयलगाडा प्रदर्श, पौष २७ गते प्रतिगमनको बिरुद्ध सडक कविता गीत, गजल कार्यक्रम, पौष २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ), पौष २९ गते  सडकमा प्ले कार्ड सहित कार्टून प्रदर्शन लगायतका छन् ।

त्यसैगरि संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भुमि फिर्ता गर्न र उक्त भुमि सहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न सङ्घर्ष गर्ने कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौलता तत्काल अन्त्य गर्न दवावमुलुक कार्यक्रम पनि  सञ्चालन गर्ने जनाएको छ । कोभिड १९ का कारण अवरुद्ध परीक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरि ढंगले लिइएको शुल्क खारेज गर्न पनि दबाब दिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस