संसद विघटनविरुद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु

सफल खबर संवाददाता

बुधबार, २२ पुस २०७७, १३ : ५४
संसद विघटनविरुद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु

काठमाडौं । संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्चमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको हो ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले यो विवाद वृहत् पूर्णइजलासमा पेश गर्न माग्दै निवेदनदर्ता गराएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि यसको विरुद्धमा  सर्वोच्चमा एक दर्जन बढी रिट परेका छन । सबै रिटप्रति आजदेखि संवैधानिक इजलासमा अन्तिम सुनुवाई सुरु भएको जानकारी दिइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराका अनुसार सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउन  आदेश दिएपछि अन्तिम सुनुवाई सुरु भएको हो । यो मुद्दामा सर्वोच्चलाई सघाउन एमिकस क्युरी समेत गठन गरिएको छ ।  क्युरीमा पूर्णमान शाक्य, गीता संग्रौला, बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली छन् ।

अन्तिम सुनुवाई प्रारम्भ गर्नुअघि सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतसँग लिखित जवाफ झिकाएको थियो । संसद विघटनसँगै नेपालको सबैभन्दा ठूलो पार्टी नेकपा पनि विभाजित अवस्थामा पुगेकाले सर्वोच्चले के आदेश दिन्छ भन्ने सर्वत्र चासो छ ।

प्रतिक्रिया दिनुहोस