प्रधानमन्त्री ‘घाँडो’ भए : नेकपा अध्यक्ष नेपाल

सफल खबर संवाददाता

मंगलबार, २१ पुस २०७७, १७ : ५३
प्रधानमन्त्री ‘घाँडो’ भए : नेकपा अध्यक्ष नेपाल

फाइल तस्विर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएको बताएका छन् । 

जनता समाजवादी पार्टी नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा प्रचण्ड–माधव सूहका अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले संसदमा विपक्षी पार्टीका नेताहरुलाई गरेका शब्दबाण सुनेर आफूलाई पोल्ने गरेको नेता नेपालले बताए । 

प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा देशभित्र र बाहिर कस्तो प्रभाव पार्छ भन्ने विचार नगरी बोल्ने प्रवृतिले आफूहरुलाई शिर निहु¥याएर बस्नुपर्ने अवस्थामा पु¥याएको उनले बताए ।

उनले भने, ‘संसदमा उहाँले विपक्षी पार्टीहरुसँग, विपक्षी नेताहरुसँग गरिएका शब्दबाणहरु सुन्नुहोस् । त्यो ओहोदामा पुगेको र देशको अविभावक भएको प्रधानमन्त्रीको मुखबाट देश भित्र र बाहिर के प्रभाव पर्छ भन्ने कुरा विचार नगरिकन बोल्ने कुराले हामीलाई पोल्थ्यो । हामी टाउको उठाएर ताली बजाउने होइन शिर निहु¥याएर झोक्रिने अवस्था पैदा हुने गर्दथ्यो । के गर्ने हामीले नै बोकेर ल्याएको नेता, मैले नै प्रस्तावित गरेको दलको नेता, मैले नै प्रस्तावित गरेको प्रधानमन्त्री अब घाँडो हुन पुग्नुभयो ।’

प्रधानमन्त्री ओलीले जनताका समस्यालाई बेवास्ता गरी देशमा भ्रष्ट्राचार मौलाउने काममा भूमिका खेलेर लोकतन्त्रको मूल्य मान्यतालाई कुल्चेर चल्ने कुरामा पार्टी भित्रबाट विरोध भएको उनले बताए । जनताको हितमा काम नगर्ने तर भ्रष्ट्राचारलाई मौलाउने भूमिका खेल्ने प्रवृतिलाई सुधार्न पार्टीमा कुरा उठाएको नेपालले बताए । 

उनले भने, ‘उहाँले आफूखुशी काम गरेर, जनताका समस्यालाई बेवास्ता गरेर, देशमा बेहाली ल्याएर, भ्रष्ट्राचारलाई मौलाउने काममा भूमिका खेलेर, सबै खालका लोकतन्त्रका मूल्य र मान्यतालाई कुल्चेर चल्ने कुरालाई पार्टी भित्रबाट विरोध भएकै हो । उहाँको अराजक, निरंकुश कार्यशैलिको विरोध गरिएकै हो तर पार्टी भित्र गरिएको हो ।’

कार्यक्रममा अध्यक्ष नेपालले पार्टीभित्रको विवादलाई लिएर असंवैधानिक कदम चालेर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको हत्या गर्न खोजेको आरोप लगाए । प्रजातान्त्रिक प्रवृत्ति नभएको मान्छे भएकाले प्रधानमन्त्री ओलीले आफ्ना विरोधीहरुलाई एकएक गरेर सिध्याउन चाहेको उनले बताए ।  

अध्यक्ष नेपालले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीले चालेको गलत कदममा नेपालको संविधानको मूल भावना र मर्मलाई ठिक व्याख्या गरेर गलत गर्नेहरुलाई सही बाटो देखाउने कुरामा भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस