के गर्दैछन् बामदेव ? यसरी गर्दैछन् कित्ता क्लियर

सफल खबर संवाददाता

मंगलबार, २१ पुस २०७७, १४ : ३७
के गर्दैछन्  बामदेव ? यसरी गर्दैछन् कित्ता क्लियर

काठमाडौं । नेकपाका सचिवालय सदस्य तथा राष्ट्रिय सभा सांसद बामदेव गौतमले अझै पनि आफ्नो कित्ता क्लियर गरेका छैनन् । न ओली समूह न प्रचण्ड माधव समूह दुबैतर्फ नगई अहिलेसम्म आफूलाई तटस्थ राखेका छन् । 

नेकपाका शीर्ष नेताहरु सबैले आफ्नो कित्ता क्लियर गरिसकेका छन् । आफ्नो कित्ता क्लियर नगर्ने एकमात्र नेता हुन् बामदेव गौतम । बामदेव गौतम दुबै समूहमा जान चाहेका छैनन् । उनी निकटका नेताहरुका अनुसार गौतम तत्काल कुनै एक समूहमा जाने संकेत छैन, दुबैले आश नगरे हुन्छ । उनी त पार्टीलाई एक बनाउन राष्ट्रिय अभियान नै चलाउन लागेका छन् । उनी निकटका नेताहरु भन्छन्, ‘गौतमले  विभाजित पार्टीलाई एक हुने रसायन खोजी गरिरहेको छन्, कुनै भागवन्डा खोजेर कुनै समूहतर्फ जान लागेका होइनन् । 

‘नेकपाको अहिलेको विभाजन कुनै वैचारिक, सैद्धान्तिक विभाजन होइन, मिलाउन सकिन्छ भनेर बामदेव गौतम लागिरहेका छन्’ उनी निकटका एक नेताले भने । गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार कार्यशैली सच्याउन सके पनि पार्टी एकता हुन्छ भन्ने विश्वासमा गौतम हुनुहुन्छ । एकता अभियान राष्ट्रिय रुपमा लैजाने र एकताको लागि केन्द्रीय समिति बनाउने छलफलमा गौतम यतिबेला लागिरहेका छन् । 

गौतमले जिल्लाका नेताहरुसँग छलफल चलाइरहेका छन् । प्रेस सहयोगी सुवेदीका अनुसार सबै नेताहरुले गौतमलाई पार्टी एकताबद्ध गराउन जोड दिएका छन् । गौतमको सचिवालयका अनुसार गौतमले पार्टी एकीकरणको आधार पुष्टि गर्ने दस्ताबेज लेखिरहेको छन् र छिटै सार्वजनिक गर्ने सोचमा उनी छन् । 

वामदेवनिकट केन्द्रीय सदस्य हरि पराजुलीका अनुसार गौतम सकेसम्म एकता जोगाउने नसके चुनावी गठबन्धन बनाएर नेकपाको एउटामात्र उम्मेदवार बनाउने सोचमा छन् । एकताको अभियान दुई चरणमा गर्ने अभियानमा गौतम छन् । पहिलो चरण दल दर्ता नहुँदासम्म र अर्को चरण चुनावको मनोनयन नगर्दासम्म एकता अभियान लैजाने सोचमा गौतम रहेका छन् । त्यसैले उनी पार्टी एकताको अवधारणापत्र ल्याउने बताउँदै कार्यदल बनाएर एकता गर्ने वातावरण सिर्जना गर्ने तयारी गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस