निजीकरणका नाममा ३८ उधोग धराशायी भए : ओली

आइतबार, १० मंसिर २०७४, १५ : ४६
निजीकरणका नाममा ३८ उधोग धराशायी भए : ओली

काठमाडौँं, १० मंसिर  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार सञ्चालन हुँदा मुलुकमा निजीकरणका नाममा ३८ उधोग धराशायी भएको जिकिर गर्नुभएको छ ।

एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ चुनाव कमिटीले आज बौद्धमा आयोजना गरेको चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले देशमा उधोग सकिई रोजगारीको अवसर नहुँदा अहिले ४० लाख युवा विदेशिएर मरुभूमिमा भेडाबाख्रा चराउन बाध्य भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेता ओलीले भन्नुभयो, “ एमाले दल चुनाव लड्ने र  सरकार बनाउने काममा मात्र सीमित नरही राष्ट्रिय स्वाधीनताको संरक्षण र जनताको स्वाभिमानलाई उँचो राख्न पनि प्रतिबद्ध छ । ”

अध्यक्ष ओलीले ‘देशमा पटक पटक बहुमत ल्याएर पनि नेपाली काँग्रेसले सुशासन र  राजनीतिक स्थिरता प्रदान गर्न नसकेकाले’ अब वाम गठबन्धनलाई बहुमत दिन जनतालाई आग्रह गर्नुभयो । सो अवसरमा स्थानीय समाजसेवी देवकुमार लामाको नेतृत्वमा केही व्यक्ति एमालेमा प्रवेश गरेका थिए ।(रासस )

 

प्रतिक्रिया दिनुहोस