पार्टी फुटेको छैन, ओलीसहितका केही मानिस माइन्युट चोरेर भागे : पूर्वअर्थमन्त्री पाण्डे

प्रकाश सिग्देल

आइतबार, १२ पुस २०७७, १६ : ५२
पार्टी फुटेको छैन, ओलीसहितका केही मानिस माइन्युट चोरेर भागे : पूर्वअर्थमन्त्री पाण्डे

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीको माइन्युट र छाप छ भन्दैमा पार्टी आफ्नो हुन्छ भनेर भ्रममा नपर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । आइतबार भरतपुरमा नेकपा चितवनका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् । 

सत्ताको दम्भले माइन्युट र छाप लुकाउँदैमा पार्टी र चुनाव चिह्न आफ्नो हुन्छ भनेर तर्क गर्नु मुर्खता सिवाय अरु केही नभएको पाण्डेको भनाई छ । नेकपा पार्टी फुटेको नभै ओलीसहतिका केही मानिस माइन्युट चोरेर भागेको पाण्डेको भनाई छ ।

नेकपाका २५ प्रतिशत केन्द्रीय सदस्य बाहेक ७५ प्रतिशत केन्द्रीय सदस्य अर्थात ३७७ जनाभन्दा बढी सदस्य प्रचण्ड–नेपाल समुहमा रहेकाले नेकपा पार्टी फुटेको नभै केही अधिनायकवादीहरुले मति बिग्रिएर बाटो बिराएकाले आफूहरु नै आधिकारिक नेकपा भएको र चुनाव चिह्न सूर्य पनि आफूहरुले नै पाउने दाबी उनको छ ।

निर्वाचन आयोगमा दुई अध्यक्षसहित बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएकाले निर्वाचन आयोगले आफूहरुलाई नै वैधानिकता दिने पाण्डेको भनाई छ । ओलीले शक्तिको बलमा आफूअनुकुल निर्णय गराए भने जनताले सडकबाट ओलीको सरकार ढाल्ने र त्यसैका लागि नेकपाले आन्दोलनको आँधीबेहरी ल्याउन लागेको पाण्डेको भनाई छ । 

नेकपा केन्द्रीय सदस्य केशवलाल श्रेष्ठले ओलीको अधिनायकवादी चिन्तन र मनै राष्ट हुँ भन्ने तानाशाही प्रवृत्तिले संसद विघटन भएको र अब देश ओलीको नियन्त्रण बाहिर गइसकेको दाबी गरे । अब जनताले पुनः एकपटक आन्दोलनको आँधीबेहरी सृजना गरी ओलीको तानाशाही चिन्तनलाई किनारा लगाउनु पर्ने उनको भनाई छ । 

नेकपा आधिकारिक रुपमा आफूहरु नै भएको बताउँदै उनले पुस १४ गते काठमाडौँमा हुने विरोध प्रदर्शनमा चितवनबाट १० हजार कार्यकर्ता उतार्न पनि चितवन पार्टीलाई उनले निर्देशन दिए ।

अर्का केन्द्रीय सदस्य सूर्य सुवेदी पथिकले ओलीको योजना सफल भए आफूहरु मर्नु पर्ने नत्र जेल जानु पर्ने अवस्था आउने भन्दै ओलीको यो कदम विरुद्ध एकपटक ठुलै आन्दोलन गर्न सबै तयार हुनु पर्ने बताए । ओलीको यो प्रहार कुनै ब्यक्तिमाथि भन्दा पनि ब्यवस्था र प्रणालीमाथि भएकाले एकपटक सबै जना ठुलो आन्दोलनमा समाहित भएर ओली प्रवृत्तिलाई परास्त गर्न जरुरी भएको उनको तर्क थियो ।

भेलालाई सम्बोधन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले प्रधानमन्त्री ओलीले संविधानलाई बलात्कार गरेको बताइन् । म नै राज्य हुँ, मैले जे गरेपनि अरुले मान्नु पर्छ भन्ने दम्भले देशमा यो अवस्था आएको र ओलीको यो कदमलाई कुनै पनि हालतमा सफल हुन दिन नहुने दाहालको भनाई छ । 

प्रधानमन्त्री ओलीले सत्ता र शक्तिको दुरुपयोग गरी नेकपाको पार्टी कार्यालयमा आफूहरुलाई प्रवेश गर्न नदिई प्रहरीको घेराबन्दीमा कार्यालय राखेको भन्दै उनले आक्रोस ब्यक्त गरिन् । आफूहरुले प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दा कार्यक्रम गर्नुहोस् भनेको तर पछि पार्टी कार्यालय प्रहरीको कब्जामा राखी आफ्नै पार्टी कार्यालयमा प्रवेश गर्न आफूहरुलाई नदिएको उनको भनाई छ ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले सिङ्गो चितवन पार्टी प्रचण्ड–नेपाल समूहमा रहेको बताउँदै ओलीको यो योजना सफल हुन नदिन केन्द्रको निर्देशन बमोजिम नै आन्दोलनका कार्यक्रम गर्दै अगाडि बढ्ने र १४ गते ३५ सय सदस्य काठमाडौँमा हुने आन्दोलनमा सहभागी हुने जानकारी गराए । जिल्लामा पनि विभिन्न कार्यक्रम गर्ने उनको भनाई थियो ।

नेकपा चितवनका सचिव कृष्णभक्त पोखरेलले बहुमतको सरकारको प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानमा कहिँ पनि उल्लेख नभएको भन्दै संविधानको धारा पढेर सहभागीलाई सुनाए ।

आफैले संविधानको मस्यौदा तयार पारेको र त्यहाँ कहिँ पनि प्रधानमन्त्रीलाई यस्तो अधिकार नभएकाले प्रधानमन्त्री ओलीले आफूलाई संविधानभन्दा माथि राखेर तानाशाह बनेको पोखरेलले बताए । ओलीको यो कदम विरुद्ध आफूहरु एक भएर आन्दोलन गर्नुको विकल्प नभएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस