गाउँपालिका अध्यक्ष लाजुराम चौधरीको आक्रोस : तनहुँमा केपीलाई रामचन्द्रको च्यालेञ्ज, कैलालीमा गौरीशंकरलाई मेरो च्यालेन्ज

सफल खबर संवाददाता

शनिबार, ११ पुस २०७७, ११ : ५१
गाउँपालिका अध्यक्ष लाजुराम चौधरीको आक्रोस : तनहुँमा केपीलाई रामचन्द्रको च्यालेञ्ज, कैलालीमा गौरीशंकरलाई मेरो च्यालेन्ज

file photo

कैलाली । कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले श्रममन्त्री गौरीशंकर चौधरीलाई आफूसँग चुनाव लड्न चुनौती दिएका छन् । गाउँपालिका अध्यक्ष चौधरीले सामाजिक सञ्जालमा पनि चुनौती दिएर चुनाव लड्न चुनौती दिएका हुन् । उनले लेखेका छन्, ‘फेरि भन्न मन लाग्यो, तनहुँमा केपीलाई रामचन्द्रको च्यालेञ्ज, कैलालीमा गौरीशंकर र मेरो च्यालेन्ज ।’

केही दिन अघिसम्म कैलालीमा रहेका श्रममन्त्री गौरीशंकर चौधरीले कैलालीका विभिन्न क्षेत्रमा आफूनिकटका कार्यकर्तालाई भेला गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरे । उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको बताए ।

सुरुदेखि नै नेकपा अध्यक्ष प्रचण्डनिकट रहेका पूर्वकृषि मन्त्री चौधरी दोस्रोपटक ओली क्याबिनेटमा सुटुक्क मन्त्री बनेपछि उनको निर्वाचन क्षेत्रमा तरङ्ग पैदा भएको छ ।
‘मङसिर ५ गते कार्यकर्तालाई भेला गरेर असंवैधानिक कदमप्रति लड्नुपर्छ भन्नुभएको थियो’  अध्यक्ष  चौधरीले भने, ‘हामीलाई प्रधानमन्त्री ओलीको विरोध गर्न लगाएर उहाँ उतै लाग्नुभयो ।’

मन्त्री चौधरीले जनताको भावनामाथि खेलेको अध्यक्षले आरोप लगाए । उनले मन्त्री चौधरीलाई चुनौती दिँदै भने, ‘आउनुहोस् तपाईंको पक्षमा धेरै कि मेरो पक्षमा धेरै हेरौँ ।’

प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्नुभन्दा अघिल्लो दिनसम्म पनि गौरीशंकर चौधरी प्रचण्ड-माधव समूहमै थिए । तर, मन्त्रीको अवसर पाएपछि उनले गुट परिवर्तन गरेको गाउँपालिका अध्यक्ष चौधरीले आरोप लगाए ।

यसअघि प्रचण्डनिकट भएकै कारण चौधरीले प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वसंविधान सभा सदस्य बीरभान चौधरीको पनि दाबी थियो । पछि बीरभान चौधरीलाई प्रदेश सभाको टिकट दिएर गौरीशङ्कर चौधरीलाई प्रतिनिधिसभामा चुनाव लडाइएको थियो । उनले काँग्रेसका रामजनम चौधरीलाई हराएका थिए ।

मन्त्री चौधरीलाई बैंकले कालो सूचीमासमेत राखेको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।
 

प्रतिक्रिया दिनुहोस