राज्यमन्त्री मानन्धरले बनाए एकल गायनमा विश्व रेकर्ड

सफल खबर संवाददाता

शनिबार, ११ पुस २०७७, ०७ : ५६
राज्यमन्त्री मानन्धरले बनाए एकल गायनमा विश्व रेकर्ड

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन्। वर्ल्ड बुक अफ रेकर्ड युकेमा उनले सो रेकर्ड कायम गरेका हुन्। शुक्रबार यहाँ आयोजना भएको कार्यक्रममा दिउँसो १ः१५ बजेदेखि गाउन सुरु गरेका राज्यमन्त्री मानन्धरले लगातार ४ घण्टा ५ मिनेट २० सेकेन्ड गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन्। राज्यमन्त्री मानन्धरले उक्त समयमा क्रमश ५९ वटा गीत गाएका थिए।  

उनले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए। नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारादेवी, अरुणा लामालगायतले गाएको गीत उनले ट्रयाकमा गाएका हुन्। ‘देशले रगत मागे मलाई बलि चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’ लगायतका गीत उनको रोजाइमा परेको थियो।  

कार्यक्रममा प्रधानमन्त्री पत्नी महिला राधीका शाक्यले राजनीति र गायनसँगै आफ्नो व्यक्तित्व अगाडि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिइन्। सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्री मानन्धरको प्रयासले नेपाललाई विश्वमा थप पहिचान दिने विश्वास व्यक्त गरे।

वर्ल्ड बुक अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटुवालले मन्त्री मानन्धर यो विधामा गीत गाउने विश्व कै पहिलो मन्त्री भएको बताए।  कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले मन्त्री मानन्धरलाई विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस