गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि १० लाख सहयोग

रासस

विहीबार, ०९ पुस २०७७, ११ : २४
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि १० लाख सहयोग

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रत्ननगर नगरपालिकाले रु १० लाख हस्तान्तरण गरेको छ । रङ्गशाला निर्माणका लागि सो नगरपालिकाले रु १७ लाख सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा रु १० लाख प्रदान गरेको हो । 

नगरपालिकाको तर्फबाट रु १५ लाख, जनप्रतिनिधिको तर्फबाट रु एक लाख र कर्मचारीको तर्फबाट रु एक लाख गरी रु १७ लाख आर्थिक सहयोग गर्ने घोषणा गरिएअनुसार सहयोग रकम हस्तान्तरण गरिएको नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले धुर्मुस सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनालाई बुधबार रु १० लाखको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगर प्रमुख वनले कोरोना महामारीका कारण रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरणमा ढिलाइ भएको बताए । 

उनले भने, “चितवनमा अन्तर्राष्ट्रिय गौरवको आयोजना बनिरहेको छ । यो अन्तर्राष्ट्रिय महत्वको विषय भएकाले सहयोग जारी राख्नेछौँ ।” चितवन मुलुकको तेस्रो पर्यटकीय गन्तव्य भएकाले रङ्गशालाले जिल्लामा खेलकूदको माध्यमबाट पर्यटनको विकास हुने उनको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत कुँवरले बाँकी रु सात लाख पनि छिट्टै हस्तान्तरण गरिने बताए । 
 

प्रतिक्रिया दिनुहोस