जनआन्दोलनमा सेनाले यातना दिएकालाई सम्मान

रासस

बुधबार, ०८ पुस २०७७, १० : १५
जनआन्दोलनमा सेनाले यातना दिएकालाई सम्मान

प्रतिकात्मक तस्विर

चितवन । जनआन्दोलन सफल बनाउन छलफल गरिरहेका बेला एउटै डोरीमा ३४ जनालाई बाँधेर नेपाली सेनाले यातना दिएकाहरुलाई सम्मान गरिएको छ । नेपाली कांग्रेस माडी नगरपालिकाले घटना भएकै दिन पारेर मङ्गलबार उनीहरुलाई सम्मान गरेको हो ।

विसं २०४६ को जनआन्दोलन कसरी सफल बनाउने भन्ने विषयमा माडीको अयोध्यापुरीस्थित गोविन्द बस्तीका चित्रबहादुर दुराको घरमा पुस ७ गते साँझ छलफल भइरहेका बेला सेनाले पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई एउटै डोरीले बाँधेर रातभर हिँडाएर बिहान कीर्तनपुरमा ल्याएर राखिएको थियो । पक्राउ परेमध्येका नेपाली कांग्रेसका नेता प्रा डा सूर्यकान्त घिमिरेका अनुसार उनीहरुलाई कुटपिट र धम्कीपछि भोलिपल्ट साँझ पालैपालो छाडिएको थियो ।

सो क्रममा नेपाली कांग्रेस चितवनका पूर्वसभापति रामकृष्ण घिमिरे, पृथ्वीमान गुरुङलगायतका नेता पनि सेनाको यातनामा पर्नुभएको थियो । सोही सम्झनामा पक्राउ परेकाहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापति कृष्णलाल सापकोटा, रामकृष्ण घिमिरे र टेकप्रसाद गुरुङले अहिलेसम्मका सबै उपलब्धिहरुमा कांग्रेसको त्याग रहेको बताए । कांग्रेसबिनाको आन्दोलन सफल हुन नसक्ने दृष्टान्त दिँदै उनीहरुले संविधानको रक्षाका लागि फेरि पनि सङ्घर्षमा लाग्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।