बामदेवलाई फेरि खेलाउन खोज्दै ओली, खेल्लान त बामदेव ?

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, ०८ : ५९
बामदेवलाई फेरि खेलाउन खोज्दै ओली, खेल्लान त बामदेव ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले उपाध्यक्ष बामदेव गौतमलाई फकाउन फेरि नयाँ अस्त्रहरु फाल्न थालेका छन् । गौतमकै आडमा तत्कालीन एमाले अध्यक्ष बन्न सफल भएका ओलीले त्यसयता ओलीलाई दिएका सबैजसो आश्वासन केवल कागजका पुलिन्दामात्र बनेका थिए  । कतिपय अवस्थामा त ओलीले आफू पदमा पुगेपछि गौतमलाई होच्याउनेसम्म गरेका अनेकन उदाहरणहरु छन् । अहिले फेरि उनी गौतमलाई फकाउने रणनीति अनुसार दौडधुपमा लागेका छन् ।

पार्टीभित्र उनको सबै खाले विकल्प समाप्त भएपछि ओली अहिले दुलोभित्र बसेको सर्प दुलोमा धुवााँको मुस्लो छोडेपछि निस्सासिएर निस्के झै भएको छ । ओलीको दौडधुर निक्कै छ, यतिबेला । पहिले पार्टीका अर्का अध्यक्ष प्रचण्डको दैलोमा पाइला समेत चाल्न हिचकिचाउने ओलीले प्रचण्ड निवास खुमलटार मात्र पुगेनन्, आफ्नै मन्त्रीमण्डलका गृहमन्त्री रामवहादुर थापा (बादल)को निवास प्रोटोकल समेत वास्तै नगरी पुगे ।

नेकपा भित्र ओलीको कार्यशैली र प्रवृति पछि गत कात्तिक २८ गते अध्यक्ष प्रचण्डले १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । त्यसको जवाफी प्रस्ताव ओलीले झन ३८ पृष्ठको लेखेर पार्टी कमिटिमा राखे । तर त्यसको छलफलमा बस्ने हिम्मत अझै ओलीमा जुरेको छैन । दुवै अध्यक्षका प्रस्ताव सचिवालय हुँदै स्थायी समिति बैठकमा पुगेको छ । आजको स्थायी समिति बैठकमा दुवै अध्यक्षका प्रस्तावमा छलफल हुने कार्यसुची छ । त्यही बैठकको पूर्वसन्ध्यामा ओलीले आफनो दौडधुप बढाएका हुन् । तर उनले चाहेजस्तो दौडधुपले उनलाई कुनै लाभ मिलेको त छैन । तर उनले यो वीचमा फेरि उपाध्यक्ष वामदेव गौतमका लागि नयाँ कार्ड फ्याक्न भने कोसिस गरिरहेका छन् ।

वामदेवको अस्थिर राजनीतिक यात्राको फाइदा उठाउँदै पटक पटक ओलीले उनलाई उपयोगको नीति अख्तियार गरिरहेका छन् । वामदेवमा रहेको एकपटक प्रधानमन्त्री बन्ने महत्वाकांक्षामा ओलीले पटक पटक खेलेका छन् । संविधानत : प्रतिनिधि सभाका सदस्यबाहेक अन्य व्यक्ति प्रधानमन्त्री बन्न पाउँदैनन् । तर पनि बामदेवका लागि भोक जगाइदिने काम बेला बेला ओलीले गर्दै आइरहेका छन् ।

गौतम गत प्रतिनिधिसभामा बर्दियाबाट चुनावमा पराजय भएका कारण प्रतिनिधिसभामा छैनन् । तर उनलाई अहिले राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने पदमा सांसद बनाएर लगिएको छ । उनका लागि मन्त्री, उपप्रधानमन्त्रीसम्म बन्ने बाटो राष्ट्रिय सभा सदस्य भएका कारण खुले पनि प्रधानमन्त्री बन्ने वाटो खुला छैन । तर पनि प्रधानमन्त्रीले बेला बेला यही तुरुप फालेर वामदेवलाई आफनो पक्षमा रिझाउन अनेक प्रयास नगरेका होइनन् । त्यो श्रृखला अहिलेसम्म पनि जारी नै छ ।

गत वैशाखमै ओलीमाथि संकट आइलागेपछि उनले वामदेवलाई प्रधानमन्त्री बनाउने तुरुप फालेका थिए । तर संकट सकिने बित्तिकै उनले प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष गौतमलगायत सचिवालय सदस्यकै उपस्थितिमा आफूले टियर ग्यासको पो छेडेको जवाफ फर्काएका थिए । तर अझ एक प्रसंगमा उनले प्रधानमन्त्री बन्न वामदेवलाई अंग्रेजी नै नआउने सम्मको अभिव्यक्ति दिएर ओलीले होच्याउनेसम्मको काम गरेका थिए ।

प्रधानमन्त्री ओली सचिवालयवाट स्थायी समितिमा आइसकेको एजेण्डालाई फेरि बामदेव फकाएर सचिवालयमै फर्काउने र त्यहाँबाट आफनो संकट पार लगाउने कोशिसमा देखिन्छन् । तर प्रचण्ड, वरिष्ठ नेता माधव नेपाललगायतका सचिवालयका वहुमत नेता सचिवालय हँुदै स्थायी समितिमा आएको प्रस्ताव अब स्थायी समितिमा छलफल गर्ने र केन्द्रीय समितिमा लगेर छिनोफानो लगाउने तयारीमा छन् ।

तर ओलीको वामदेव फकाउने प्रयास भने अझै जारी छ । उनले गत पुस १ को स्थायी समिति वैठकमा आफू नेतृत्व छोड्न तयार रहेको र अन्य प्रधानमन्त्री र पार्टी अध्यक्ष भइसकेका नेतालाई पनि छोडेर अर्काे व्यक्तिमा नेतृत्व सुम्पन तयार हुन भन्दै लामो भाषण दिएका थिए । यस अगाडि ओलीले ६० वर्षसम्मको पुस्तामा नेतृत्व हस्तान्तरणका लागि आफू तयार रहेको भन्दै प्रचण्डलाई तपाइँ तयार हो ? भन्दै लिखित प्रश्न गरेका थिए । ओलीको यस्तो प्रस्ताव आफू आफनो कार्यकालसम्म पदमा बस्ने र जब आफ्नो कार्यकाल सकिएर त्यस पदमा फेरि दोहोरिने सम्भावना नदेखेपछि उनले यस्तो ढाटछलका लागि तुरुप फयाँकेको वरिष्ठ नेता माधव नेपाल बताउँदै आइरहेका छन् ।

यस्तो बेला उनले आफूपछि नेतृत्व गौतमलाई हस्तान्तरण गर्न तयार रहेको सन्देश पुस १ को स्थायी समितिमा गरेका थिए । ‘अघिल्लो सिटमा बसेका हामीहरु ५ नेतामध्ये ४ प्रधानमन्त्री र पार्टी अध्यक्ष भइसकेका व्यक्ति छौं, वामदेव कमरेडमात्र त्यो पदमा पुग्नु भएको छैन । तर उहाँ पनि हाम्रँै समकक्षी मध्येका एक मात्र नेता हुनुहुन्छ, अब उनलाई बनाएर जाऔं,’ ओलीले भनेका थिए । तर उनको आसय महाधिवशेनपछि गौतमलाई अध्यक्ष, अर्काे चुनावपछि गौतमलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको भन्ने सन्देश थियो । ओलीको यो फन्डामा पनि बामदेवले भने मुख मिठाएको उनी निकट एक नेताले सफलखबरलाई बताए । त्यसपछि नै उनले गत शुक्रवार साँझ आफू निकट नेताहरुलाई निवासमा बोलाएर अध्यक्ष पद आफनो पोल्टामा पर्न सक्ने संकेत गरेका थिए ।

ओलीले पद छोड्नै परे अध्यक्ष छोड्ने र त्यसमा अन्य नेताभन्दा आफूलाई सहयोग गर्ने र उनी निकटका दोस्रो तहका नेताबाट यो खालको सन्देश प्राप्त पनि भइसकेकोले अब विवाद मिलाउँदा आफू अध्यक्ष बन्न सक्ने सम्भावना उनले आफू निकटका नेताहरुलाई गरेका थिए । तर उनी निकटका नेताहरुले प्रधानमन्त्रीको तुरुपमा नफस्न गौतमलाई आग्रह गरेका थिए ।

ओलीले त्याग गरेपछि अवस्था के निस्कन्छ, त्यो पार्टी कमिटीले नै निर्णय गरेको आधारमा हुनुपर्ने भन्दै अहिले प्रचण्ड नेपालको समिकरणबाट अन्यत्र नसोची ओलीको फन्डामा नपर्न गौतमलाई निकट नेताहरुले सुझाव दिएका छन् । ओलीले आफू निकटका दोस्रो पुस्ताका नेतालाई गौतमको निवासमा पठाएर अध्यक्ष बनाउने प्रस्ताव गरिरहेका छन् । उता अर्काेतिर पार्टी बैठकमा गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरिरहेका छन् । तर त्यसका लागि ओलीलाई राजीनामा दिनुस् भन्दा ओलीले अर्काे चुनावपछि भनेर फेरि ढाटछलको राजनीति गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस